संखुवासभामा दुई किशोरीलाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन्।
चिचिला गाउँपालिका-२ का ३५ वर्षीय तुफान राई, सोही गाउँपालिका वडा-३ का २८ वर्षीय प्रकाश राई पक्राउ परेका हुन्।
उनीहरूलाई दुवै जनालाई खाँदबारी नगरपालिका-१ बाट शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका संखुवासभाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभिषेककुमार श्रेष्ठले जानकारी दिए।
'उनीहरूले दुई जना किशोरीमाथि ललाईफकाई बलात्कार गरेको उजुरी छ,' उनले भने।
जेठ ७ गते खाँदबारी बजार आएका १६ वर्षीया र १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको छ।
किशोरीहरूले बताएअनुसार बजारमा भेटेर ललाईफकाई खाजा खाने र घुम्न जाने भनेर मोटरसाइकलमा बस्न लगाई खाँदबारी नगरपालिका-१ को होटलमा लगेर बलात्कार गरेका हुन्।
सोही अनुसार उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिए।