जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई गालीगलौज गरेका जनता समाजवादी पार्टी (जसपा)का नेता अशोककुमार यादवविरूद्ध पहिल्यै सात वटा मुद्दा चलिसकेको खुलेको छ।
उनको आपराधिक पृष्ठभूमि हेर्दा यादवविरूद्ध सात वटा मुद्दा चलेको खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी सरोज राईले जानकारी दिए।
उनी अशोक राई नेतृत्वको जसपाको मधेस प्रदेश अध्यक्षसमेत हुन्।
डिएसपी राईका अनुसार उनीविरूद्ध एउटा चोरी मुद्दा, पाँच वटा अभद्र व्यवहारको मुद्दा र एउटा ज्यान मार्ने उद्योगको मुद्दा चलेको छ।
यादवले बिहीबार राति एसपी खड्कालाई फोन गरी ‘लुटेरा’ को संज्ञा दिएका थिए। उनले प्रहरीले व्यापारीहरूलाई दु:ख दिएको भन्दै टेलिफोनमार्फत अपशब्द बोल्दै गालीगलौज गरेका थिए।
उनीहरूबीचको टेलिफोन संवाद बाहिरिएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट त्यही राति ११ बजेतिर उनलाई पक्राउ गर्न टोली परिचालन गरिएको थियो।
यादव कविलासी नगरपालिका-१० सलिनपुरमा बस्छन्।
प्रहरी परिचालन हुने थाहा पाएका यादवले गाउँलेको मद्दत लिएर प्रहरीमाथि नै ढुंगामुढा गर्न लगाएको डिएसपी राईले बताए।
‘राति ११ बजेतिर हामी राति खोजी गर्दै उनको गाउँमा पुग्यौं। खोजी गर्दै जाँदा बाटोमै उनलाई पक्राउ गर्न आएको भन्ने थाहा पाएर उनको टोलीले ढुंगामुढा गर्यो,’ उनले भने।
त्यसराति भने प्रहरीले उनलाई पक्राउ गर्न सकेन।
शुक्रबार भने एसपी खड्का र अध्यक्ष यादवबीचको संवादको अडिओ पनि बाहिरिएको थियो।
त्यसपछि कार्यालयले जिल्ला अदालतबाट यादवमाथि आपराधिक उपद्रवको कसुरमा पक्राउ अनुमति लिएको थियो।
प्रहरीले उनलाई पक्राउ गर्नका लागि तयारी थालेको थियो।
तर बिहीबार रातिजस्तै प्रहरीमाथि आक्रमण हुने भन्दै कार्यालयले जिल्लाका सबै युनिटहरूबाट प्रहरी कार्यालयमा झिकाएको डिएसपी राईले बताए।
उनका अनुसार जिल्लाभरिका युनिटहरूमा एकहजार भन्दा बढी प्रहरी छन्। ती सबैलाई बोलाइएको थियो।
‘घरमै लुकेर बसेको छ भन्ने सूचना पाएका थियौं। गाउँमा ऊ सुरक्षित छ भनेर बसेको थियो। स्थानीयले आफ्नो लागि भीडन्त गर्छ भन्ने हिसाबले उनी बसेको हुनसक्ने भएकाले गाउँमै छापा मार्न पर्छ भनेर हामीले जिल्लाभरिकै युनिटबाट सबै प्रहरी झिकाएका थियौं,’ उनले भने, ‘तर पछि त्यहाँबाट पनि भागिसकेको भन्ने खुल्यो। त्यसपछि सबै प्रहरीलाई हामीले आ-आफ्नो ठाउँमा फिर्ता पठायौं। जिल्लामा संख्या एक हजार जना भन्दा बढी प्रहरी दरबन्दी छन्।’
प्रहरीले अहिले यादवको खोजी गरिरहेको छ। उनी कहाँ बसेको हुनसक्ने भनेर सूचना संकलन गरिरहेको डिएसपी राईले बताए।