रसुवामा केही दिन भारी वर्षा भएर नदीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ।
आइतबार जिल्ला प्रशासन कार्यालय रसुवाले सूचना जारी गर्दै भारी वर्षा हुनसक्ने भनेर जल तथा मौसम विज्ञान विभाग र चिनियाँ पक्षले सूचना दिएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए।
‘मौसम विभाग र चिनियाँ पक्षबाट समेत आगामी केही दिन यस क्षेत्रमा भारी वर्षाका कारण नदीको बहाव बढ्न सक्ने हुँदा विपदको जोखिम हुनसक्ने सम्भावना रहेको भनी आवश्यक पूर्वतयारी र सावधानीका लागि सूचना प्राप्त भएको,’ प्रशासनले जारी गरेको सूचनामा भनिएको छ।
भोटेकोशी, त्रिशुली, लाङटाङ, चिलिमे लगायत नदी खोला क्षेत्रमा विपदको जोखिम रहेका पनि प्रशासनले जनाएको छ।
नदीको तटीय क्षेत्रमा रहेका कार्यालयहरूले आवश्यक पूर्वतयारी गर्न प्रशासनले अनुरोध गरेको छ।
असार २४ गते बिहान ३ बजेतिर रसुवामा आएको बाढीले २० जनालाई बेपत्ता बनाएको थियो। कतिपयको शव फेला परेको छ भने कतिपयको खोजी गर्नेक्रम जारी नै छ।
