मितेरी बचत तथा ऋण सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले यसमा संलग्न रहेको आरोपमा कम्बोडियाबाट पक्राउ गरी ज्योतिबहादुर भण्डारीलाई काठमाडौं ल्याएको थियो।
उनीमाथि अनुसन्धान गर्ने क्रममा थप दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको हो।
सिआइबी प्रवक्ता एवं एसपी युवराज खड्काका अनुसार उनीहरूमाथि किर्ते र ठगी कसुरमा अनुसन्धान भइरहेको थियो।
तर थप व्यक्तिहरूको पनि संलग्नता खुल्दै गएपछि संगठित अपराध कसुरमा पनि आकर्षित भएको खड्काले बताए।
‘अनुसन्धानकै क्रममा संगठिततर्फ पनि आकर्षित भएपछि त्यसमा म्याद लिएर अनुसन्धान भइरहेको छ,’ उनले भने।
अहिले पक्राउ पर्नेमा बर्दियाका सुरेश अधिकारी र धादिङका सुबास खत्री छन्।
उनीहरू दुबै जना हुण्डीका रकम ओसारपसारमा संलग्न देखिएका हुन्। हुण्डी गरी कम्बोडियामा बस्ने भण्डारीलाई समेत रकम पठाउने गरेको प्रहरीले जनाएको छ।
सुरूआतमा सुरेशले सहयोगीको रूपमा ज्योतिका लागि एक डेढ वर्ष काम गरेका थिए।
पछि उनले काम छाडिसकेका थिए। उनीहरू नातेदार समेत पर्छन्।
उनीपछि सुबास खत्री ज्योतिबहादुरसँग जोडिएका थिए।
उनले पनि त्यसैगरी हुण्डीको कारोबारमा संलग्न भएको सिआइबीको भनाइ छ।
सिआइबीले उनीहरूको मोबाइल नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि प्रहरीको प्रयोगशालामा पठाएको छ।
त्यहाँबाट रिपोर्ट आएपछि क्रिप्टोकरेन्सीमा संलग्नताबारे पनि खुल्न सक्ने प्रहरीको अनुमान छ।
ज्योतिबहादुरविरूद्ध इन्टरपोलबाट २०८१ कात्तिक १३ गते उनीविरूद्ध नोटिस जारी भएको थियो।
ज्योतिबहादुर भण्डारीलाई नेपालको इन्टरपोलले कम्बोडियाबाट असार ४ गते काठमाडौं ल्याएको थियो।
उनीसहित केही व्यक्तिहरूमाथि १४ करोडभन्दा बढी रकम ठगी गरेको आरोप छ। यस सहकारी अपचलनको कसुरमा १४४ जना पीडितहरू प्रहरीको सम्पर्कमा छन्।
बर्दिया बाँसगढीका ४२ वर्षीय भण्डारीले सहकारीको मात्रै ११ करोड बढी ठगेको सिआइबीको प्रारम्भिक अनुसन्धानमा देखिएको थियो।
सहकारीकी महाप्रबन्धक ज्योति गुरूङमार्फत उक्त रकम झिकेको खुलेको थियो। गुरूङ नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङकी पूर्वपत्नी हुन्। सिआइबीले यही विषयमा धनराजसँग पनि पटकपटक बोलाएर कागज गरेको छ।
हाल ज्योति गुरूङविरूद्ध पनि रेड कर्नर नोटिस छ। तर उनी अझै फरार छिन्।
सहकारीको पैसा अपचलन गरी ज्योतिबहादुर थाइल्याण्ड गएका थिए।
उनी थाइल्याण्ड गइसकेपछि मात्रै ज्योति गुरूङले सहकारीको रकम लिएकोबारे पदाधिकारीहरूलाई जानकारी गराएकी थिइन्।
सहकारीको ११ करोड भन्दा बढी रकम लगेपछि पदाधिकारीहरूले ह्वाट्सएप ग्रुपमार्फत नै रकम माग गरेका थिए।
भण्डारीले भने त्यसमा थप छलकपट गरेको सिआइबीको भनाइ छ।
भण्डारीले सहकारीका सचिव कृष्णबहादुर रानाको ग्लोबल आइएमई बैंक इन्द्रचोक शाखामा ३३ करोड ११ लाख रुपैयाँ पार्सल गरी पठाएको भनेर मेसेज गरेका थिए।
मेसेजसँगै उनले एउटा टोकनको फोटो पनि पठाए। तर त्यसमा पनि थप रकम ठगी गरेको खुलेको थियो। थाइल्याण्डबाट पार्सल पठाएकाले त्यसलाई लिन कमिसन दिनुपर्ने भन्दै उनले सहकारीकै पदाधिकारीलाई बताएका थिए।
विभिन्न नम्बरबाट सहकारीका पदाधिकारीलाई सम्पर्क गरेर आश्वासन दिएर थप रकम ठगेको खुलेको हो।
भण्डारीले थप तीन करोड ४४ लाख ७४ हजार ३२० रुपैयाँ व्यक्तिगत रूपमै ठगेको सिआइबीको भनाइ छ। सिआइबीले भण्डारीको नाममा दुई वटा राहदानी र दुई वटा नागरिकता पनि रहेको फेला पारेको छ।
उनीविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा विभिन्न मितिमा दर्ता भएको ३ वटा मुद्दामा समेत फरार रहेको खुलेको छ।