रसुवामा आएको बाढीका कारण चीनतर्फ फसेका २०३ जना नेपालीलाई तातोपानी नाकाबाट फर्काइने भएको छ।
२०३ जना नेपालीलाई बुधबार सिन्धुपाल्चोकको तातोपानी नाकाबाट फर्काउन लागिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए।
उनका अनुसार विभिन्न निकायको समन्वयमा नेपालीहरूलाई नि:शुल्क फर्काउन लागिएको हो।
गृह मन्त्रालय, परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित चिनियाँ दूतावास र बेइजिङस्थित नेपाली दूतावाससँग समन्वय गरेको थियो। त्यस्तै ल्हासास्थित नेपाली महावाणिज्य दूतावास र दुवै तर्फका स्थानीय प्रशासनले पनि नेपालीलाई फिर्ता पठाउन सहकार्य गरेको हो।
नेपाल फर्केसँगै उनीहरूलाई सिन्धुपाल्चोकबाट स्थानीय प्रशासनको सहयोगमा काठमाडौंसम्म पुर्याउने व्यवस्था गरिएको छ।
असार २४ गते रसुवागढीको भोटेकोशीमा बाढी आएको थियो। बाढी आउँदा नेपाल-चीन जोड्ने मितेरी पुल भत्किएको थियो। जस कारण रोजगारीका लागि गएका नेपालीहरू चीनतर्फ फसेका थिए।