कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ की १८ वर्षीया सम्झना भट्टको मृत्यु प्रकरणमा उनको परिवारले आत्महत्या दुरूत्साहनसम्बन्धी मुद्दा दर्ता गराएको छ।
भीमदत्त नगरपालिका–६ का सम्झनाका बुबा भोजराज भट्टले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पुगेर आत्महत्या दुरूत्साहनसम्बन्धी मुद्दा दर्ता गराएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रागर बोहराले सेतोपाटीलाई बताए।
सम्झनाका श्रीमान भनिएका २४ वर्षीय पवन भट्टविरूद्ध भोजराजले आत्महत्या दुरूत्साहनसम्बन्धी मुद्दा दायर गरेका छन्।
गत फागुनमा मात्रै उनीहरूले प्रेम विवाह गरेका भनिएको छ।
सम्झना आइतबार बिहान पवनको घरभित्र झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेकी थिइन्।
सम्झनाको परिवारले उनको शरीरमा निलडाम तथा खतहरू देखिएको जाहेरीमा उल्लेख गरेको छ।
प्रहरीले भने पोष्टमर्टम रिपोर्टपछि मात्रै त्यसबारे स्पष्ट हुने बताउँदै आएको छ।
सम्झनाको शव कञ्चनपुरस्थित महाकाली अस्पतालमा राखिएको छ। सोमबार पनि सम्झनाको शवको पोष्टमर्टम हुन सकेन।
शारीरिक र मानसिक यातना सहन नसकी छोरीले गलत बाटो रोजेको सम्झनाको परिवारको दाबी छ।
बिहे गरेपछि श्रीमानले कुटपिट गर्ने गरेको हुँदा सम्झना पटक पटक प्रहरीमा पुग्ने गरेको हुँदा दोषीमाथि कारबाही हुनुपर्ने परिवारको माग छ।
सम्झाना र उनका श्रीमान भनिएका पवन आत्महत्या गर्नुभन्दा अघिल्लो दिन पनि इलाका प्रहरी कार्यालय बेलडाँगीमा पुगेका थिए। त्यहाँका प्रहरी अधिकारीले दुवै जनालाई सम्झाएर घर फर्काएका थिए।
त्यसअघि पनि सम्झना आफूमाथि घर परिवार र श्रीमानले शारीरिक तथा मानसिक यातना दिने गरेको भन्दै प्रहरीमा पुग्ने गरेकी थिइन्।
विगत दुई तीन वर्षको प्रेमपछि उनीहरूले आपसमा बिहे गरेका थिए। सम्झना कक्षा १२ मा पढिरहेकी थिइन् भने पवन ब्याचलरमा पढ्ने भए पनि पछिल्लो समय घरमै बस्दै आएका थिए।
उनी नियमित कलेज जान छाडेको तथा पढाइमा अनियमितता भएको भन्ने खुलेको प्रहरीले बताएको छ। पवन प्रहरी नियन्त्रणमा छन्।
यो पनि:
१८ वर्षीया किशोरी मृत फेला, एक पुरूष पक्राउ