नेपाल एसबिआई बैंकको नाफा १०.५५ प्रतिशतले घटेको छ।
बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ९९ करोड रूपैयाँ नाफा कमाएकोमा गत आर्थिक वर्षमा बैंकले एक अर्ब ८० करोड रुपैयाँ नाफा गरेको हो।
बैंकको खुद ब्याज आम्दानी सामान्य बढे पनि अघिल्लो पटकभन्दा प्रावधान बढी राखेको छ। यसैले गर्दा नाफामा प्रभाव परेको हो।
बैंकले अघिल्लो पटक ६४ करोड प्रावधान राखेको बैंकले यस पटक एक अर्ब दुई करोड प्रावधान राखेको छ।
बैंकको खुद ब्याज आम्दानी पाँच अर्ब सात करोडबाट बढेर पाँच अर्ब २६ करोड रुपैयाँमा सीमित भएको छ।
बैंकको वितरण योग्य मुनाफा एक अर्ब २३ करोड रुपैयाँ छ। बैंकले ११.२९ प्रतिशत लाभांश दिन सक्ने क्षमता देखिन्छ।
यसअघि यस्तो क्षमता १०.४९ प्रतिशत थियो। बैंकले ब्याज नउठेको कारण यसअघि नियामकीय प्रावधानमा राखेको १२ करोड ८७ लाख रूपैयाँ फिर्ता ल्याएपछि लाभांश क्षमता बढेको हो।
बैंकको खराब कर्जा १.९६ प्रतिशतबाट बढेर ३.३५ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ५४ पैसा छ। यस अघि यस्तो आम्दानी १८ रूपैयाँ ३५ पैसा थियो।
बैंकको प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ५९ पैसा छ।