इण्डोनेसियामा आयोजित १८ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक विजेता नेपाली प्याराग्लाइडिङ टोलीलाई घरेलु सहर पोखरामा भव्य स्वागत गरिएको छ। खेलाडी, प्रशिक्षकलाई नागरिक अभिनन्दनसहित सम्मान गरिएको हो।
पश्चिमाञ्चल क्षेत्रीय तथा जिल्ला खेलकुद विकास समिति र नेपाल हवाइ खेलकुद संस्था (ना), नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ र पाइलट क्लबले संयुक्त आयोजनामा पोख्रेलीले भव्य स्वागत गरे। पोखरा विमानस्थलबाट उनीहरूलाई नगरपरिक्रमा गरेर पोखरा रंगशाला पुर्याएका थिए।
पोखरा विमानस्थल ओर्लिएपछि खेलाडीलाई बाजागाजासहित पोखरा बजार परिक्रमा गर्दै नागरिक अभिनन्दन गराइ साथ पोखरा रंगशालामा लगिएको संयोजक दीपक गोदारले जानकारी दिए।
विमानस्थलबाट मुस्ताङचोक, विरौटाचोक, ड्यामसाइड, शहीदचोक, गौरीघाट, बाराहीचोक, हल्लनचोक, जिरोकिलोमिटर, सभागृहचोक, न्युरोड, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुँदै पोखरा रंगशालामा पुगेर सम्मान कार्यक्रम भएको थियो।
प्याराग्लाइडिङको पुरुष टिम इभेण्टमा विमल अधिकारी, सुशिल गुरुङ, युकेश गुरुङ, विजय गौतम र विशाल थापा सहभागी थिए। महिलातर्फ त्रिशा श्रेष्ठ, प्रतिभा भुजेल र सविता तामाङले प्रतिस्पर्धाको लागि जकार्ता पुगेका थिए। उनीहरूको साथमा प्रशिक्षक योगेश भट्टराई, सानोबावु सुनुवार र व्यवस्थापकमा शैलेन्द्र रावत इण्डोनेसिया गएका हुन्।
नेपाली प्याराग्लाइडिङ टिमले छ वटा पदकमा प्रतिस्पर्धा गरेका थिए। एक्युरेसी एकल र युगलमा महिला तथा पुरुष तथा क्रसकन्ट्री विधामा पुरुष र महिला टिमले प्रतिस्पर्धा उत्रिएका थिए। यद्यपी पदक भने पुरुष टिम क्रसकन्ट्रीमा जापानसँग २७ अंकले पछि पर्दै रजत पदकमा चित्त बुझाएको थियो। पोखरामा प्याराग्लाइडिङ सुरू भएको २० वर्ष बित्यो । २० वर्ष पुगेकै अवस्थामा नेपाललाई रजत पदक दिलाएको हो।
नेपालमा प्याराग्लाइडिङ पोखराबाटै सुरूवात भएको हो। सन् १९९६ देखि पोखरामा प्याराग्लाइडिङको सुरूवात भएको हो। पहिलो सहभगिता जनाएको प्याराग्लाइडिङ खेलले २० वर्षपछि पुरुष क्रस कन्ट्री टिम इभेण्टमा रजत पदक जितेको थियो। नेपाललाई पहिलो रजत पदक भने सन १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारीले जितेकी थिइन्।