भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पोखरामा फागुन ७ गते १३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन प्रतियोगिता हुने भएको छ।
म्याराथन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तेज गुरुङले जानकारी दिए।
उनले प्रतियोगितामा करिब ५ हजार खेलाडीको सहभागीता जनाउने शनिबार पोखरा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
उनले प्रतियोगितमा भाग लिने खेलाडीले सोमबारसम्म नाम दर्ता गर्न भएका कारण खेलाडीको संख्या आइनसकेको बताए।
म्याराथन प्रतियोगिताका विजेताले नगद १ लाख, मेडल र प्रमाणपत्र, दोस्रो हुनेले ७० हजार, तेस्रो हुनेले ५० हजार र सान्त्वना ७ हजार रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।
त्यस्तै, १० किलोमिटर महिला र पुरुष दौड प्रतियोगिता, ५ किलो मिटर विद्यालय स्तरीय छात्रछात्रा दौड प्रतियोगिता, ह्विल चियर महिला तथा पुरुष दौड, दृष्टिविहीन महिला तथा पुरुष दौड प्रतियोगिता हुने उनले बताए।
१० किलो मिटर दौड प्रतियोगिताका विजेताले १५ हजार, दोस्रोले १० र तेस्रोले ५ हजार रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।
त्यसैगरी, विद्यालयस्तरीय ५ किलोमिटर छात्रा/छात्र दौड प्रतियोगिताका विजेताले १० हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनले ४ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले बताए।
ह्विल चियर र दृष्टिविहीन प्रतियोगिताका विजेताले ५ हजार, दोस्रो हुनेले ३ हजार र तेस्रो हुनेले २ मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।
पोखरा रंगशालाबाट सुरू हुने प्रतियोगितामा उत्साह थप्न सगरमाथा आरोही तेन्जिङ शेर्पा, माउन्ट किनाबुलु मलेसियामा कीर्तिमानधारी अन्तर्राष्ट्रिय धावक कुशाङ गुरुङ, नायिका तथा सगरमाथा आरोही रोजिता वुद्धाचार्य, सगरमाथा आरोही देउराली चाम्लिङ, पत्रकार अखण्ड भण्डारी, व्रेष्ट क्यान्सरविरूद्धकी अभियान्ता एवम पूर्व भलिबलका राष्ट्रिय खेलाडी मञ्जु गुरुङ, बोष्टनका याम पौडेल, पोखरेली मञ्च यूकेका अध्यक्ष मानप्रसाद गुरुङ लगायतले सहभागिता जनाउने गुरुङले बताए।
प्रतियोगिता सम्पन्न गर्न करिब २३ लाख खर्च हुने र २८ लाख रुपैयाँ संकलन भएको जानकारी दिए ।