बंगलादेशलाई अन्तिम बलमा हराउँदै भारतले श्रीलंकामा जारी टी-२० त्रिकोणात्मक श्रृंखला जितेको छ।
आइतबार कोलम्बोमा भएको फाइनलमा दिनेश कार्तिकले ८ बलमा २९ रन बनाएपछि भारतले बंगलादेशलाई ४ विकेटले हराउँदै सिरिज आफ्नो बनाएको हो।
बंगलादेशले दिएको १६८ रनको लक्ष्य भारतले अन्तिम बलमा छक्का प्रहार गर्दै भेट्टाएको हो।
अन्तिम २ ओभरमा भारतलाई जितका लागि ३४ रन आवश्यक रहेको अवस्थामा स्ट्राइकमा रहेको कार्तिकले १९औं ओभरमा २२ रन प्रहार गरे। २ चौका र २ छक्कासहित २२ रन बनाएका हुन्।
अन्तिम ओभरमा भारतलाई जितका लागि १२ रन आवश्यक थियो। बंगलादेशका सौम्य सरकारले पहिलो बल वाइड फाले। दोस्रो बल डट फालेका उनले तेस्रो बलमा एक रन दिए। चौथो बलमा सरकारले चौका दिएपछि बंगलादेश दबाबमा देखियो। बाँकी २ बलमा ६ रन आवश्यक रहेको बेला पाचौ बलमा भारतले विकेट गुमायो। अब अन्तिम बलमा जितका लागि भारतलाई ६ रन आवश्यक थियो। अन्तिम बलमा लामो छक्का प्रहार गर्दै कार्तिकले भारतलाई जित दिलाए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६६ रन बनाएको थियो। उसका लागि
शब्बीर रहमानले ७७ रन बनाएका थिए। भारतका लागि युजवेन्द्र चहलले ३ विकेट लिएका थिए।
१६७ रनको लक्ष्य लिएर मैदानमा आएको भारतका लागि कप्तान रोहित शर्माले ५६ रनको पारी खेलेका थिए।