मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेलले शुक्रबार कीर्तिमानी शतक प्रहार गरे पनि नेपालले खेल जित सकेन।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा रोहितले पपुवा न्युगिनीविरूद्ध शतक हिर्काए।
पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ८ विकेटको क्षतिमा २९२ रन जोड्यो। २९३ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेटकै क्षतिमा २८६ रन मात्र जोड्दा ६ रनले पराजित भयो।
खेलमा रोहितले १२६ रन जोडे। त्यसका लागि उनले १०७ बलमा ७ चौका र ४ छक्का प्रहार गरे।
उनको यो करिअरको पहिलो एकदिवसीय शतक हो। नेपालका लागि भने यो दोस्रो एकदिवसीय शतक हो।
रोहितले शतकसहित नेपालका लागि एकै इनिङ्ग्समा सर्वाधिक रन जोड्ने कीर्तिमान बनाए। यसअघि पारस खड्काले बनाएको ११५ रन नेपालको एकदिवसीय खेलमा एकै इनिङ्ग्समा सर्वाधिक स्कोर थियो।
एकदिवसीय खेलमा एक शतक र चार अर्धशतक बनाएका उनी नेपालका लागि पाँच खेलमा ५० रन कटाउने पहिलो खेलाडी समेत बने।
रोहित नेपालका लागि एकदिवसीय खेलमा पाँच सय रन कटाउने पहिलो ब्याट्सम्यानसहित सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि बने।
रोहितले पूर्वकप्तान ज्ञानेन्द्र मल्लको नाममा रहेको सर्वाधिक रनको कीर्तिमान पछि पारेका हुन्। रोहितले १६ खेलमा ५८८ रन बनाएका छन्। ज्ञानेन्द्रले १९ खेलमा ४८० रन जोडेका छन्।
खेलमा रोहितले अर्को कीर्तिमान पनि बनाउन सफल भए। उनले आरिफ शेखसँग पाँचौ विकेटका लागि १०४ रनको साझेदारी गरे। यो साझेदारी नेपालले कुनै पनि विकेटका लागि गरेको ठूलो साझेदारी हो।
यसअघि यो कीर्तिमान आरिफ र रोहितकै नाममा थियो। दुवैले गत साता पपुवा न्युगिनीविरूद्ध नै सय रनको साझेदारी गर्दै कीर्तिमान बनाएका थिए।
शतकसहित कीर्तिमान बनाएका रोहित खुलेर खुसी हुन भने सकेका छैनन्। खेल नेपालले जित्दै आफूले फिनिसिङ गर्न पाएको भए उनको खुसी दोब्बर हुने पक्का थियो।
अन्त्यतिर सोमपाल कामी र कमलसिंह ऐरी ब्याटिङ गरिरहदा रोहित पेभिलियनबाट कराइ रहेका थिए। उनी सोमपाल र कमललाई रन हान्न हौसला दिइरहेका थिए। तर पनि नेपालले अन्तिम ओभरमा १० रन बनाउन सकेन र खेल हार्यो।
'नेपालले जितेको भए अझ राम्रो लाग्थ्यो। अर्कोतर्फ मैले फिनिसिङ गर्न पनि सकिन,' उनले भने।
गत साता युएई भ्रमणका दौरान पनि उनलाई शतक प्रहार गर्ने अवसर थियो। तर उनी अर्धशतकमै रोकिएका थिए।
'युएई र पिएनजीसँग यसअघि पनि शतक प्रहार गर्ने अवसर थियो। त्यतिबेला सफल भइन। अहिले शतक हाने पनि नेपालले खेल हार्दा मज्जा आएन,' खेलपछि उनले भने, 'अहिले शतक पूरा भएको खुसी भने लागेको छ।'
नेपालका प्रशिक्षक पुबुदु दसानायके रोहितको प्रदर्शनमा खुसी छन्। रोहितको शतकले आगामी दिनमा नेपाललाई फाइदा पुग्ने पुबुदुको भनाइ छ।
'रोहितको प्रदर्शनमाखुसी छु। उसको शतकको विषयमा हामीले यसअघि पनि कुरा गरेका थियौं। दुबईमा ५० रन हानेपछि शतक हान्छ सक्छ जस्तो लागेको थियो। तर त्यसो हुन सकेको थिएन,' उनले भने, 'आज सफल भएका छन्। जब ब्याट्सम्यानले शतक प्रहार गर्छन् उसको आत्मविश्वास बढ्छ। टिमलाई पनि फाइदा हुन्छ। उसले आफ्नो जिम्मेवारी अनुसारको प्रदर्शन गरेकोमा खुसी छु। यस्तो ब्याटिङ भयो भने हामी जुनसुकै एसोएसिएट टिमलाई पराजित गर्न सक्छौं।'
नेपालका कप्तान सन्दीप लामिछानेले पनि रोहितको शतकको प्रशंसा गरे।
'रोहितको शतक मैले आफ्नै आँखा अगाडि देखेको एउटा राम्रो इनिङ्ग्स मध्येको एक हो। आज हानेको शतक भविष्यका लागि राम्रो हुन्छ,' सन्दीपले भने,'अहिले जुन फर्ममा रोहित छ उसले शतक हान्नै पर्छ भनेर हामीले हिजोदेखि नै कुरा गरेका थियौं।'