नेपाल, मलेसिया र पपुवा न्युगिनी (पिएनजी) बीचको त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ।
नेपालले बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्यो। यसअघि नेपालले पहिलो खेलमा पिएनजीलाई पराजित गरेको थियो। जितसँगै नेपाल फाइनल नजिक पुगेको छ।
मलेसियाले दिएको ११५ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा १३.४ ओभरमै पूरा गर्यो।
नेपालको जितमा आसिफ शेखले अर्धशतक प्रहार गरे। उनले ५७ रनको योगदान गरे। आसिफले ३८ बलमा ७ चौका र १ छक्का प्रहार गरे।
आसिफको यो दोस्रो टी-२० अर्धशतक हो। उनले गत वर्ष त्रिवि मैदानमा नेदरल्यान्ड्सविरूद्ध अर्धशतक प्रहार गरेका थिए।
दीपेन्द्रसिंह ऐरीले २१ रन जोडे। उनले १७ बलमा १ चौका र १ छक्का प्रहार गरे।
दीपेन्द्र नेपालका लागि टी-२० मा सर्वाधिक रन प्रहार गर्ने ब्याट्सम्यानको शीर्ष स्थानमा उक्लिए। यसअघि पूर्वकप्तान पारस खड्काको नाममा सर्वाधिक रन हान्ने कीर्तिमान थियो। उनले ७९९ रन जोडेका थिए। दीपेन्द्रले कुल ८०३ रन जोडेका छन्।
ओपनर कुशल भर्तेल १ रन र रोहित पौडेल १२ रनमा आउट भए। डेब्यू खेलाडी दिलीप नाथले नटआउट १५ रन जोडे। उनले ७ बलमा ३ चौका हिर्काए।
बलिङमा मलेसियाका पवनदीप सिंहले २ विकेट लिए।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ८ विकेटको क्षतिमा ११४ रन जोड्यो।
मलेसियाका लागि ओपनिङ ब्याट्सम्यान जुब्लादी जुल्कीफरले ३२ रन जोडे। उनले १५ बलमा ३ चौका र २ छक्का प्रहार गरे।
त्यसअघि ओपनर विरनदीप सिंह इनिङको पहिलो बलमै आउट भए। उनलाई करण केसीले बोल्ड गरेका थिए।
कप्तान अहमद फइज २४ रनमा आउट भए। उनले ३८ बलमा ३ चौका प्रहार गरे। सयद अजिज १४ रनमा आउट हुँदा शर्भिन मुनियान्डी ९ रनमा पेभिलियन फर्के।
यस्तै मोहमद अमिर १६ रन बनाएर खेलिरहदा अबिनास बोहराको एलबिडब्लूको धरापमा परे। करणले १९ ओभरमा अमर हजलानलाई शून्यमा आउट गरे।
बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले २-२ विकेट लिए। सन्दीपले ४ ओभरमा २७ रन र करणले ३ ओभरमा १६ रन दिए।
अबिनास बोहरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले १-१ विकेट हात पारे।
अब नेपालले भोलि बिहीबार पिएनजीसँग प्रतिस्पर्धा गर्नेछ।
यसअघि दुवै टिमले सुरूवाती खेलमा जित निकालेका थिए। दुवैले पिएनजीलाई पराजित गरेका थिए।