आइसिसी एकदिवसीय विश्वकप २०२३ को आयोजक भारतले प्रतियोगिताका लागि राष्ट्रिय टिम घोषणा गरेको छ।
टिममा केएल राहुल पुनरागमन गरेका छन्। राहुलले यस वर्ष मे महिनादेखि कुनै पनि प्रतिस्पर्धात्मक क्रिकेट खेलेका छैनन्। भारतका पहिलो रोजाइका विकेटकिपर राहुल सेप्टेम्बर ४ मा बेंगलुरुको राष्ट्रिय क्रिकेट एकेडेमीमा फिटनेस परीक्षण पास गरेपछि एसिया कपको सुपर फोर चरणको लागि श्रीलंका जाने तयारीमा छन्।
इशान किशनले राहुलसँगै टिमका दोस्रो विकेटकिपर ब्याट्सम्यानको रूपमा आफ्नो स्थान कायम राखेका छन्। किशनले सेप्टेम्बर २ मा पल्लेकेलेमा पाकिस्तानविरुद्ध भारतको वर्षाले प्रभावित एसिया कपको उद्घाटन खेलमा ८२ रन बनाएर आफ्नो उपयोगितालाई सिद्ध गरेका थिए।
अजित आगरकरको नेतृत्वमा रहेको छनोट समितिले सूर्यकुमार यादवलाई पनि टिम छनोट गरेको छ।
विश्वकपमा जसप्रित बुमराहले तीव्र गतिको बलिङ आक्रमणको नेतृत्व गर्दैछन् जसमा मोहम्मद सिराज, मोहम्मद शामी र शार्दुल ठाकुर छन्। अक्षर पटेल, रविन्द्र जडेजा र हार्दिक पाण्ड्या अलराउन्डरको रूपमा रहदा कुलदीप यादव स्पिनर रुपमा भारतीय टिममा छन्। भारतीय टिममा अफ स्पिनरको अभाव छ ।
भारतले अक्टोबर ८ मा चेन्नईमा अस्ट्रेलियासँग खेल्दै विश्वकपको आफ्नो अभियानको सुरुवात गर्नेछ।
भारतको विश्वकप टिम: रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), इशान किशन (विकेटकिपर), सूर्यकुमार यादव, हार्दिक पाण्ड्या (उपकप्तान), रविन्द्र जडेजा, कुलदीप यादव, अक्षर पटेल, मोहम्मद सिराज, मोहम्मद शामी, शार्दुल ठाकुर, जसप्रित बुमराह।