मलेसियामा जारी आइसिसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत थाइल्यान्डविरूद्धको सेमिफाइनल खेलमा नेपालले जितका लागि १०६ रनको लक्ष्य पाएको छ।
कलालाम्पुरको रहेको बायुमास ओभलमा टस जितेर ब्याटिङ गरेको थाइल्यान्डले २० ओभर खेल्दै २ विकेटको क्षतिमा १०५ रन बनाएको छ।
थाइल्यान्डका लागि नन्नापट खोन्चरोन्कइले अर्धशतक प्रहार गरिन्। उनले ६३ बलमा ४ चौकाको मद्दतबाट अविजित ५९ रनको योगदान गरिन्।
नात्थकन चन्थले ३१ रन बनाउन ४५ बल खेल्दै २ चौका प्रहार गरिन्। ओपनर सुवानन खियटो २ रन बनाएर आउट भइन् भने चनिदा सुथिरूआङले नट आउट ११ रन बनाइन्।
नेपालकी कविता कुँवर र पुजा महतोले एक/एक विकेट लिए।
यो खेलमा जित हात पार्न सके नेपाल महिला टी-२० विश्वकप छनोटमा पुग्नेछ। प्रतियोगिताबाट दुई टिम विश्व छनोटमा पुग्ने प्रावधान छ।
नेपालले विश्वकप छनोटमा स्थान पक्का गरे १० टिमसँग प्रतिस्पर्धा गर्नेछ।
१० टिम मध्ये २ टिमले सन् २०२४ मा बंगलादेशमा हुने महिला टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन्।