केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले अन्तिम खेलमा सुदूरपश्चिमसँग हार बेहोरेपछि समूह चरणबाटै बाहिरिएको छ।
पहिलो खेलमा मधेश प्रदेशलाई पराजित गरेको पुलिस मंगलबार पोखरा रंगशालामा भएको खेलमा सदुरपश्चिमसँग ४ विकेटले पराजित भयो। मधेशले भने सदूरपश्चिमलाई पराजित गर्न सफल भएको थियो।
तीनै टिमले समान एकएक जित र एकएक हार बेहोरेपछि समान २-२ अंक भयो। नेटरन रेटमा मधेश अघि रह्यो भने पुलिस दोस्रो र सुदूपश्चिम तेस्रो स्थानमा रहे। यससँगै समूहबाट मधेश अन्तिम चारमा पुग्न सफल भयो।
मंगलबार पोखरा रंगशालामा पुलिसले दिएको १५९ रनको लक्ष्य सुदूरपश्चिमले ८ बल बाँकी छदा ६ विकेट गुमाएर पूरा गर्यो। उसका लागि किरण ठगुन्नाले नटआउट ५१ रन जोडे। उनले ३४ बलमा ४ चौका र २ छक्का प्रहार गरे।
नारायण जोशीले ७ बलमा नटआउट २ चौका र १ छक्का प्रहार गर्दै नटआउट १७ रन जोडे। त्यसअघि नरेन साउद ३९ रन जोडेर आउट भएका थिए।
बलिङमा पुलिसका रासिद खानले ३ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४ विकेटको क्षतिमा १५८ रन बनायो। पुलिसका लागि ओपनर कुशल भुर्तेलले ५१ बलमा ५ चौका र ५ छक्का हिर्काउँदै ६७ रन र सुनील धमलाले ४० बलमा ४२ रनको योगदान दिए।
समूह 'सी' बाट मधेश सेमिफाइनल पुग्दा समूह 'ए' बाट बागमती र 'बी' बाट एपिएफ अन्तिम चारमा पुलिसकेका छन्।