यू-१९ एसिया कप २०२३ का लागि नेपाली राष्ट्रिय टिम घोषणा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले देव खनालको कप्तानी टिम घोषणा गरेको हो। टिममा सिनियर टिमका अलराउन्डर गुल्सन झा पनि छन्। यसअघि झा यू-१९ टिमको कप्तान थिए।
एसिया कपमा नेपाल समूह ‘ए’ मा छ। नेपालसहित समूहमा भारत, पाकिस्तान र अफगानिस्तान छन्। अर्को समूहमा बंगलादेश, श्रीलंका, युएई र जापान छन्।
नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर २२ मा दुबईको आइसिसी एकेडेमी ओभल-२ मा खेल्नेछ।
दोस्रो खेल अफगानिस्तानसँग मंसिर २४ र समूहको अन्तिम खेल भारतसँग मंसिर २६ मा खेल्नेछ।
समूहका दुई शीर्ष टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुस १ मा हुनेछ।
नेपालले सन् २०२४ को जनावरीमा दक्षिण अफ्रिकामा यू-१९ विश्वकप खेल्दैछ। त्यसअघि नेपालले एसिया कप खेल्न लागेको हो।
नेपालले यसअघि मलेसियामा भएको एसिसी प्रिमियर कप जितेर एसिया कपमा स्थान पक्का गरेको थियो।
नेपाली टिम
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक डुम्रे, हेमन्त धामी, गुल्सन झा, दिपेश कडेँल, विशालविक्रम केसी, सुवास भण्डारी, दिपक बोहरा, उत्तम थापा मगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द।