केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि मधेश प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ भएको छ।
आज पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनलमा एपिएफ क्लबलाई ११ रनले पराजित गर्दै मधेशले शुक्रबार हुने फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो।
यसअघि आर्मीले आजै बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो।
पोखरा क्रिकेट मैदानमा मधेशले दिएको १९८ रनको लक्ष्य पछ्याएको एपिएफले ९ विकेटको क्षतिमा १८६ रन जोड्यो।
एपिएफका लागि कप्तान प्रदीप ऐरीले ४२ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ५५ रन तथा सन्दीप जोराले ३१ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ५४ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन।
लोकेश बमले १५ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३२ रन जोड्दै आशा जगाए पनि उनी १९औं ओभरको अन्तिम बलमा आउट हुन पुगेका थिए।
बलिङमा मधेशका विशाल पटेलले ३ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको मधेशले ६ विकेटको क्षतिमा १९७ रन जोड्यो। उसका लागि अनिल साहले ५७ रन, इमरान शेखले ५० रन र पवन सर्राफले ३३ रनको योगदान गरे। बलिङमा एपिएफका मौसम ढकालले ३ विकेट लिए।