युगान्डाले पहिलो पटक आइसिसी टी-२० विश्वकप खेल्ने भएको छ।
आइसिसी विश्वकप २०२४ को अफ्रिका छनोटमा शीर्ष दुईमा परेसँगै युगान्डा पहिलो पटक विश्वकपका लागि छनोट भएको हो। आजको भएको समूहको अन्तिम तथा निर्णायक खेलमा युगान्डाले रावान्डालाई ९ विकेटले हराउन सफल भयो।
छनोटमा युगान्डाले आफूले खेलेका ६ मध्ये ५ खेलमा जित निकाल्यो।
यता आइसिसी स्थायी सदस्य जिम्बावे भने टी-२० विश्वकप २०२४ का लागि छनोट हुन असफल भयो। खेलेका ६ मध्ये जिम्बावे ४ खेलमा जित निकाल्दा २ खेलमा पराजित भएको थियो। जिम्बावेलाई नामिबिया र युगान्डाले पराजित गरेका थिए।
नामिबियासँग पराजित भएको युगान्डाका लागि समूह चरणमा जिम्बावेलाई हराउनु नै विश्वकपमा स्थान पक्का गर्ने आधार बन्यो।
नामिबिया भने अन्तिम खेलअघि विश्वकपमा छनोट भएको थियो।
छनोटमा युगान्डा र नामिबियासँगै जिम्बावे, केन्या, नाइजेरिया, रावान्डा र तान्जानियाले खेलेका थिए।
सात मध्ये शीर्ष दुई टिम बन्दै युगान्डा र नामिबिया आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा छनोट भएका हुन्।
अफ्रिका छनोट सकिएपछि विश्वकपमा खेल्ने सबै २० टिमको टुंगो लागेको छ। यसअघि एसिया छनोटबाट नेपाल र ओमानले विश्वकपमा स्थान पक्का गरेका थिए।