प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटअन्तर्गत बागमती छनोटमा काठमाडौंले विजयी सुरुवात गरेको छ।
आज चितवनको गौतम बुद्ध क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले भक्तपुरलाई ९४ रनले पराजित गर्यो।
काठमाडौंले दिएको १३७ रनको लक्ष्य पछ्याएको भक्तपुर १४.५ ओभरमा ४२ रनमै अलआउट भयो। भक्तपुरका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
भक्तपुरको इनिङलाई सस्तैमा समेट्ने क्रममा काठमाडौंकी खुसी डंगोल, विपिशा शाही र यशोदा बिष्टले २-२ विकेट लिए। कृष्मा गुरुङ, कप्तान अस्मिना कर्माचार्य र संस्कृति फुयाँलले १-१ विकेट लिए।
त्यसअघि भक्तपुरले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको काठमाडौंले ४ विकेटको क्षतिमा १३६ रन जोड्यो।
काठमाडौंका लागि अस्मिता खरेलले २८ रन, कन्चन श्रेष्ठले २६ रन, यशोदा विष्टले २० र कृष्मा गुरुङले नटआउट १० रन जोडे।