प्रधानमन्त्री कप महिला प्रतियोगिताको बागमती छनोटमा काठमाडौं च्याम्पियन बनेको छ। आज भएको फाइनलमा ललितपुरलाई ४ विकेटले पराजित गर्दै काठमाडौंले उपाधि जितेको हो।
चितवनको गौतम बुद्ध क्रिकेट मैदानमा ललितपुरले दिएको ५५ रनको लक्ष्य काठमाडौंले १६.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो।
काठमाडौंको जितमा कप्तान अस्मिना कर्माचार्यले नटआउट १३ रनको योगदान गरिन्।
बलिङमा ललितपुरकी यशु पाण्डे र सविका यादवले २-२ विकेट लिए।
त्यसअघि काठमाडौंले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको ललितपुरले ९ विकेटको क्षतिमा ५४ रन जोड्यो।
ललितपुरका लागि यशु पाण्डेले १३ रन जोडिन्। बलिङमा काठमाडौंका विपिशा शाही र खुसी डंगोलले ३-३ विकेट लिन सफल भए।
काठमाडौं लिग चरणमा ललितपुर, भक्तपुर र चितवनलाई पराजित गर्दै अपराजित रहदै फाइनल पुगेको थियो।