तेस्रो टेस्टमा घरेलु टिम भारतले इंग्ल्यान्डमाथि ४३४ रनको जित निकालेको छ। यो जित भारतले टेस्टमा रनको आधारमा हात पारेको अहिलेसम्मकै ठूलो जित हो। इंग्ल्यान्डको भने यो दोस्रो ठूलो हार हो।
भारतको यसअघिको ठूलो जित न्युजिल्यान्डसँग सन् २०२१ मा हात पारेको ३७२ रनको जित थियो।
जितसँगै पाँच खेलको सिरिजमा भारतले २-१ को अग्रता लिएको छ।
भारतले दिएको ५५७ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्ड १२२ रनमै अलआउट भयो। इंग्ल्यान्डका लागि मार्क उडले ३३ रन जोडे।
बलिङमा भारतका रविन्द्र जडेजाले ५ विकेट लिए।
त्यसअघि दोस्रो इनिङ्ग्समा भारतले ४ विकेटको क्षतिमा ४३० रन जोडेर इनिङ्ग्स समाप्तीको घोषणा गरेको गरेको थियो।
भारतका लागि यसश्वी जैसवालले नटआउट २१४ रन जोडे। दोस्रो दोहोरो शतक बनाउन २३६ बलमा १४ चौका र १२ छक्का प्रहार गरे।
१२ छक्का प्रहार गरेसँगै उनले विश्व कीर्तिमान बराबरी गरे। उनले टेस्टको एकै इनिङग्समा सर्वाधिक छक्काको कीर्तिमान बराबरी गरेका हुन्।
यसअघि पाकिस्तानका वासिम अक्रमले पनि सन् १९९६ मा जिम्बावेविरुद्ध टेस्टको एकै इनिङ्ग्समा १२ छक्का प्रहार गरेका हुन्।
जैशवालसँगै भारतका लागि शुभमन गिलले ९१ रन र सर्फराज खानले नटआउट ६८ रन जोडे।
यसअघि पहिलो इनिङ्ग्समा भारतले ४४५ रन र इंग्ल्यान्डले ३१९ रन जोडेका थिए।