क्यानडा-११ विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालको 'ए' क्रिकेट टिमले जित हात पारेको छ।
माथिल्लो मुलपानी मैदानमा आज भएको दोस्रो खेलमा नेपालले क्यानडालाई २ विकेटले पराजित गर्यो। नेपालको जितसँगै सिरिजमा १-१ को बराबरी भएको छ। यसअघि पहिलो खेलमा क्यानडा विजयी भएको थियो। अब बिहीबार तेस्रो तथा निर्णायक खेल हुनेछ।
आज क्यानडाले दिएको २४१ रनको लक्ष्य नेपालले पाँच बल खेल्न बाँकी छदा ८ विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा बसिर अहमद र कप्तानको भूमीका रहेका सन्दीप जोराले अर्धशतक पूरा गरे। सन्दीपले ६६ रन जोडे भने बसिरले नटआउट ५२ रन जोडे। रशिद खानले जोडेको ४७ रन पनि नेपालको जितको आधार बन्यो।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडा-११ ले ४९.५ ओभरमा अलआउट हुँदा २४० रन जोड्यो।
क्यानडाका लागि श्रेयास मोम्भाले सर्वाधिक ६८ रनको योगदान दिए। उनले ८२ बल खेल्न क्रममा पाँच चौका प्रहार गरे।
त्यस्तै नवनित दलिवालले ४६, श्रीमन्था विजयरत्नेले ४१ र आरोन जोनसनले ३६ रनको योगदान दिए। डिलोन हेलिगरले १६ रन बनाए।
बलिङतर्फ नेपालका साहब आलमले तीन विकेट लिए भने शेर मल्ल र रासिद खानले समान दुई-दुई विकेट लिए । त्यसैगरी सागर ढकाल र बसिर अहमदले समान एक-एक विकेट हात पारे।