आइसिसी लिग–२ अन्तर्गतको त्रिदेशीय सिरिजमा बुधबार नेपालले नामिबियासँग खेल्दैछ।
त्रिभुवन विश्वविद्यालय मैदान कीर्तिपुरमा बुधबार बिहान सवा ९ बजे नेपाल र नामिबियाबीचको खेल सुरू हुनेछ।
नेपालले जारी सिरिजको तेस्रो खेल खेल्दै छ भने नामिबियासँग सिरिजको दोस्रो खेल खेल्दैछ।
यसअघि पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो।
दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो।
नेपालले फागुन १३ गते पुन: नेदरल्यान्डसँग खेलेपछि सिरिज सकिनेछ।
गत संस्करणमा सात टिमबीच प्रतिस्पर्धा भएकोमा यसपटकको लिग–२ मा आठ टिम भिड्दैछन्। आठ टिमले कुल १४४ एकदिवसीय खेल खेल्दा २४ त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा हुँदैछ।
आठ मध्ये शीर्ष चारमा पर्ने टिमको एकदिवसीय मान्यता स्वत: कायम रहन्छ भने विश्वकप छनोटमा सिधा पुग्नेछन्।
बाँकी चार टिमका लागि दोस्रो अवसर हुनेछ। चार टिमले विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन्। जहाँ विश्वकप च्यालेन्ज लिगबाट आउने चार टिम गरी आठ टिमबीच प्रतिस्पर्धा हुनेछ।
नेपाली टिममा रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ, देव खनाल र अनिलकुमार साह छन्।