आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेसँगै ब्याटिङ गरिरहेको नेपालका लागि ओपनिङ ब्याटर आसिफ शेखले अर्धशतक प्रहार गरेका छन्।
उनले ५५ बलमा अर्धशतक प्रहार गर्ने क्रममा ८ चौका र १ छक्का प्रहार गरे। यद्यपी उनी ५८ रन जोडेर आउट भएका छन्।
आसिफको यो १२औं एकदिवसीय अर्धशतक हो। उनले एकदिवसीय खेलमा एक शतक पनि प्रहार गरेका छ्न। जारी सिरिजमा उनले नेदरल्यान्ड्सविरूद्धको अघिल्लो खेलमा पनि अर्धशतक प्रहार गर्ने क्रममा नटआउट ५४ रन जोडेका थिए।
नेपालले सातौं ओभरमा दुई विकेट गुमायो। ओपनर कुशल भुर्तेल ६.२ ओभरमा १८ रनमा एलबिडब्लू आउट भए। दुई बलपछि अनिल साह शून्यमा क्याच भए। दुवैको विकेट नामिबियाका बर्नाल्ड स्कोल्जले लिए।
अर्को ओभरमा देव खनाल शून्यमा क्याच भए। नेपालले पहिलो गुमाउदा ३८ रन जोडेको थियो। थप पाँच रन जोड्दा नेपालले थप दुई विकेट गुमायो।
यसअघि पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो।
नेपालले फागुन १३ गते पुन: नेदरल्यान्डसँग खेलेपछि सिरिज सकिनेछ।