आगामी जुनमा हुने आइसिसी टी-२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।
नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जुन ४ मा अमेरिकाको डालास र जुन ११ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ। बाँकी खेलहरु जुन १४ मा दक्षिण अफ्रिकासँग र जुन १६ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ।
नेपालको समूह चरणका खेल्ने चार खेलमध्ये डालासमा हुने नेदरल्यान्ड्सविरूद्धको खेलको साधारण टिकट किन्नका लागि हाललाई उपलब्ध नभएको आइसिसीले जनाएको छ।
भारत र पाकिस्तान तथा भारत र अमेरिकासहित १४ खेलको साधारण टिकट हालका लागि किन्न उपलब्ध नभएको आइसिसीले जनाएको हो। जसमा सेमिफाइनलका दुवै खेल र फाइनल खेल पनि समावेश छन्।
बाँकी ४१ खेलको टिकट खरिदका लागि आइसिसीले दोस्रो पटक आह्वान गरेको छ। आइसिसीले अघिल्लो महिना पनि टिकट बिक्री खुलाएको थियो। आइसिसीको वेभ पोर्टलबाट किन्न सकिने टिकट एक जनाले छ वटासम्म किन्न सक्नेछन्।
डालासको ग्रान्ड पियारी रंगशालाको दर्शक क्षमता १५ हजार रहेको छ। यो मैदानमा नेपालको एक खेलसहित कुल चार खेल हुनेछन्।
फ्लोरिडाको रंगशालाको दर्शक क्षमता भने ४० हजार रहेको छ। जहाँ नेपालको एक खेलसहित चार खेल हुनेछन्।
सेन्ट भिसेन्टमा नेपालले खेल्ने अर्नोस रंगशालाको दर्शक क्षमता १८ हजार छ। जहाँ नेपालको दुई खेलसहित पाँच खेल हुनेछन्।
विश्वकपको समूह चरणका खेल जुन १ देखि १८ सम्म हुनेछन्। त्यसपछि १९ देखि २४ जुनसम्म सुपर-८ हुनेछ। सेमिफाइनल २६ र २७ जुनमा हुनेछ भने फाइनल २९ जुनमा हुनेछ।
नेपालका खेल
नेदरल्यान्डसविरूद्ध - जुन ४- अमेरिका, डालास
श्रीलंकाविरूद्ध - जुन ११ - अमेरिका, फ्लोरिडा
दक्षिण अफ्रिकाविरूद्ध - जुन १४ - सेन्ट भिसेन्ट
बंगलादेशविरूद्ध - जुन १६- सेन्ट भिसेन्ट
समूहमा भारत र पाकिस्तानको खेल जुन ९ मा न्युयोर्कमा हुनेछ। नेपाल रहेको समूहका खेल अमेरिका र वेस्ट इन्डिजमा हुनेछन्।
अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकप २०२४ संयुक्तरूपमा आयोजना गर्न लागेका हुन्। पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी-२० विश्वकपमा २० टिमले सहभागिता जाउँदैछन्।
विश्वकपमा ५५ खेल हुनेछन्। सुरुमा २० टिमलाई ५-५ टिमको ४ समूहमा विभाजन गरिएको हो। ४ समूहका शीर्ष २-२ टिम गरी कुल ८ टिम सुपर-८ मा पुग्नेछन्। सुपर-८ मा पनि दुई समूहमा प्रतिस्पर्धा हुनेछन्। सुपर-२ को दुई समूहका शीर्ष २-२ टिम सेमिफाइनलमा पुग्नेछन्।
समूह ए : भारत, पाकिस्तान, अमेरिका, क्यानडा, आयरल्यान्ड
समूह बी : इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान
समूह सी : न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा, पपुवा न्युगिनी
समूह डी : दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्यान्ड्स, नेपाल