आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ।
नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो।
खेलमा नेपालले ६ विकेट गुमाइसकेको छ। दीपेन्द्रसिंह ऐरी १ रनमा रनआउट भएका छन्। डि लीडको बलमा रोहितले हानेको प्रहार लिडको खुट्टमा छोएर स्टपमा लागेपछि ऐरी दुर्भाग्यपूर्णरुपमा रनआउट हुन बाध्य भए। त्यतिबेला ऐरीले क्रिज छाडेका थिए।
दुई ओभरपछि भीम सार्की लीडबाटै शून्यमा बोल्ड भए।
त्यतिबेला नेपालले २९.३ ओभरमा ६ विकेट गुमाउँदा ९४ रन जोडेको थियो।
नेपालका कप्तान रोहितकुमार पौडेलले १६ रन मात्र जोड्न सके। आर्यन दत्तको बलमा क्याच हुनुअघि उनले ४० बलमा २ चौका हिर्काए। उनले कुशल भुर्तेलसँग चौथो विकेटका लागि ३३ रनको साझेदारी गरे।
त्यसअघि कुशल मल्ल २ रनमा आर्यन दत्तको एलबिडब्लूको धरापमा परेपछि नेपालमाथि दबाब परेको थियो। अनिल साह ७ रन बनाएर आउट भए। उनी भिभियन किंग्माको बलमा बोल्ड भए। अनिल र कुशल आउट हुँदाको बेलमा नेपालले चार रन मात्र जोड्न सक्यो।
ओपनिङ ब्याटर आसिफ शेख १७ रन बनाएर आउट भए। उनी पनि भिभियन किंग्माको बलमा डि लीडबाट क्याच भए। आउट हुनुअघि उनले २७ बलमा २ चौका र १ छक्का प्रहार गरे। उनले कुशल भुर्तेलसँग ४२ रनको ओपनिङ साझेदारी गरे।
आजको खेल जारी सिरिजको अन्तिम खेल हो।
पहिलो सिरिजको तीन खेल खेलिसक्दा नेपालले १ जित र दुई हार ब्यहोरेको छ। नेपाल नामिबियासँग भएको दुबै खेलमा पराजित भएको थियो भने नेदरल्याण्ड्सविरूद्ध भने ९ विकेटको सानदार जित निकालेको थियो।
नेपालविरूद्ध २ र नेदरल्याण्ड्सविरूद्ध एक खेलमा जित निकालेको नामिबिया ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। एक जित निकालेको नेपाल र नेदरल्याण्ड्स २/२ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन्।