एसिसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा परेको छ। नेपालको समूहमा हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन्।
टी-२० फर्म्याटमा हुने कपमा आयोजक ओमान समूह ‘बी’ मा छ। समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन्।
एसियाली क्रिकेट काउन्सिलले आज प्रकासित गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेल मलेसियासँग १२ अप्रिलमा खेल्नेछ। यस्तै नेपालले दोस्रो खेल कतारसँग १३ अप्रिलमा, तेस्रो खेल हङकङसँग १५ अप्रिल र चौथो खेल साउदी अरेबियासँग १७ अप्रिलमा खेल्नेछ।
समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल १९ अप्रिल र फाइनल २१ अप्रिलमा हुनेछ।
यो प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ। सन् २०२५ को एसिया कप टी-२० फर्म्याटमा हुनेछ। शीर्ष तीन टिमले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन्।
प्रतियोगितालाई आइसिसी टी-२० विश्वकपको तयारीको रुपमा लिइएको छ। जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा नेपाल समूह 'डी' मा छ।