आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदानमा खेलिएको पहिलो सिरिजको चारमध्ये तीन खेलमा पराजित भएपछि नेपालका प्रशिक्षक मोन्टी देसाइले राम्रो टिमसँग खेल्दा जतिबेला पनि ‘फाइटिङ मेन्टालिटि’ हुने पर्ने बताएका छन्।
प्रशिक्षक देसाइले आइतबार चौथो खेलमा नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित भएपछि नेपालले अघिल्ला दुई खेल जस्तै खेलेको समेत प्रतिक्रिया दिए।
‘हामीले पहिला जस्तै खेल खेल्यौं,’ मोन्टी देसाइले भने, ‘राम्रो टिमसँग खेल्दा फाइटिङ गरिरहनु पर्छ।’
उनले लिग-२ का सुरुवाती चार खेलबाट नेपाली खेलाडीले धेरै सिकेको पनि बताए।
‘त्रिवि मैदानको पिच ब्याटिङका लागि राम्रो देखिएन। तर पनि हामीले कोशिस गरिरहनुपर्थ्यो। हामीले सक्ने जति गर्यौं। मिहिनेत गरे पनि थियो,’ उनले भने, ‘लिग-२ मा धेरै चुनौती छ। यहाँ सबै ८ टिम राम्रा छन्।’
घरेलु मैदानमा खेलिएको यो सिरिजमा नेपालले नामिबियासँगका दुवै खेलमा हार बेहोर्यो।
टस हारेपछि पहिले ब्याटिङ गरेको नामिबियाविरुद्धको पहिलो खेलमा नेपाल १३४ रन र दोस्रो खेलमा १६८ रनमै अलआउट भएको थियो। त्यहि खराब ब्याटिङका कारण नेपालले त्रिवि मैदानमा नामिबियासँगको दुवै खेलमा हार बेहोर्न बाध्य भयो।
यस्तै नेदरल्यान्ड्ससँगको पहिलो खेलमा टस जितेको नेपालले १३७ रनमा अलआउट गरेको थियो। जुन लक्ष्य नेपालले १ विकेटको क्षतिमा पूरा गर्यो। आइतबार भएको सिरिजको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १७२ रनमै अलआउट भयो।
१७३ रनको लक्ष्य नेदरल्यान्ड्सले सहजै पूरा गर्यो। पहिले ब्याटिङ गरेका तीनै खेलमा नेपालले २ सय रन पनि कटाउन सकेन। जसका कारण घरेलु मैदानमा खेलिएको सिरिज नेपालका लागि खराब हुन पुग्यो। पहिलो सिरिज सकिदा नामिबिया ६ अंकसहित शीर्ष स्थानमा छ।
दोस्रो स्थानको नेदरल्यान्ड्सको ४ अंक छ भने नेपाल २ अंकसहित दोस्रो स्थानमा छ। यससँगै नेपालको सेप्टेम्बरअघि एकदिवसीय खेलका औपचारिक प्रतियोगिता सकिएका छन्। अब नेपालले घरेलु मैदानमै नामिबिया र नेदरल्यान्ड्ससँग टी-२० सिरिज खेल्नेछ।
मंगलबारदेखि त्रिवि मैदानमा हुने यो सिरिजका लागि नेपाली टिम भोलिसम्म घोषणा गर्ने प्रशिक्षक देसाइले बताए। उनले टिममा यसअघि विश्वकप छनोट खेलेका खेलाडी र एकदिवसीय टिमका केही खेलाडीलाई स्थान दिने बताए।
अब नेपाल जुनमा हुने टी-२० विश्वकपमा केन्द्रित हुने पनि प्रशिक्षक देसाइले बताए। त्यसका लागि नेपालले भारतको रणजी टिमसँग खेलेपछि हङकङमा टी-२० प्रतियोगिता र ओमानमा एसिसी प्रिमियर कप खेल्दैछ।