पहिलो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) टी-२० क्रिकेट प्रतियोगिताको उपविजेता सुदूरपश्चिम रोयल्सले ६ जना खेलाडीलाई रिटेन गरेको छ।
आगामी सिजनका लागि राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई मार्की खेलाडीको रूपमा रिटेन गरेको हो।
उनीसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे र नरेन साउदलाई पनि रिटेन गरेको छ।
सुदूरपश्चिमले ६ जनालाई रिलिज पनि गरेको छ।
अर्जुन कुमाल, नरेश बुढाऐर, खडक बहादुर बोहरा, भोजराज भट्ट, अमित श्रेष्ठ र वसन्त खत्रीलाई रिलिज गरिएको सुदूरपश्चिम रोयल्सका मुख्य कार्यकारी अधिकृत प्रकाश खड्काले जानकारी दिए।
रोयल्सले रिलिज गरिएका खेलाडीहरूको उज्ज्वल भविष्यको कामना गरेको छ। थप खेलाडीका लागि हुने ड्राफ्ट र ट्रायलमा नयाँ अनुहारलाई स्वागत गरिने कार्यकारी अधिकृत खड्काले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।