सुदूरपश्चिम ११ले शुक्रबार च्यासल काठमाडौंसँग खप्तड गोल्डकपको पहिलो खेल खेल्नेछ।
प्रतियोगितामा खेलिने मैदान अन्तर्राष्ट्रिय स्तरको बनाइएको जानकारी आयोजक क्लबका उपाध्यक्ष योगेन्द्र चन्दले बिहिबार आयोजित पत्रकार सम्मेलनमा बताए।
दुई वटा कृत्रिम प्याराफिट पहिले नै रहेको अवस्थामा अहिले १५ सय दर्शक क्षमताको नयाँ प्याराफिट पनि बनाइएको छ र दर्शकले सो प्याराफिटमा बसेर मजासँग खेलको आनन्द लिनसक्ने चन्दले बताए।
११ दिनसम्म चल्ने प्रतियोगितामा १२ टोली सहभागी छन्।
दुई समूहमा रहेर टोलीहरूले प्रतिस्पर्धा गर्नेछन् । समूह ‘ए’ मा आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लव, च्यासल युथ क्लब काठमाडौं, साहारा क्लव पोखरा, नेपाल एपिएफ क्लब काठमाडौं, धरान फुटवल क्लब र सिएमजी क्लब संकटा छन्।
यस्तै समूह बी मा थ्री स्टार, झापा ११, मनाङ मस्याङ्दी क्लब, डुक स्टार भुटान, रूपन्देही ११ र त्रिभुवन आर्मी क्लब छन्।
प्रतियोगिताको विजेताले उपाधि सहित ११ लाख ११ हजार १ सय ११ रुपैया तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ सय रुपैयाँ पाउनेछन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछन्। त्यस्तै टिकट काटेर खेल हेर्न आएका दर्शकहरुमध्ये गोलाप्रथामार्फत हरेक दिन मोबाइल उपहार पनि रहेको आयोजकले जनाएको छ।