राजधानीमा जारी १६औं राष्ट्रिय महिला फुटबलको उपाधि विभागीय ६ली एपिएफले जितेको छ।
बिहिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको विभागीय डर्बीमा नेपाल पुलिस क्लबलाई ३-१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो।
एपिएफको जितमा साबित्रा भण्डारीले २ तथा सरू लिम्बुले थप गोल गरिन्। पुलिसका लागि रूपा मगरले गोल फर्काइन्।
वर्षको पहिलो उपाधि जित्ने क्रममा एपिएफले लिगको ६ खेल र सुपर लिगको सबै खेल जित्दै एपिएफले उपाधि जितेको हो।
जारी लिगमा सर्वाधिक गोल गरेकी एपिएफकी साबित्रा भण्डारीले २९ गोल गरिन्।
जितेपछि एपिएफका कोच जनक सिहले टिम स्प्रिट र टिम वर्कको प्रतिफल भएको प्रतिक्रिया दिए।
विजयी भएको एपिएफले नगद २ लाख सहित ट्रफि पाएको छ। यस्तै उपविजेता भएको नेपाल आर्मीले १ लाख तथा तेस्रो भएको नेपाल पुलिस टिमले ५० हजार जितेको छ।
प्रतियोगिताको उत्कृष्ट गोल किपर एपिएफकै अञ्जली तुम्बापो, उत्कृष्ट फरवार्ड एपिएफकै साबित्रा भण्डारी तथा उत्कृष्ट प्रशिक्षक एपिएफकै जनक सिंह भए। उनीहरूले जनही २५-२५ हजार पाएका थिए।
यस्तै नेपाल आर्मीकी दीपा राई उत्कृष्ट डिफेन्डर तथा अन्जली वाइवा उत्कृष्ट मिडफिल्डर भइन्।
आजै भएको अर्को खेलमा नेपाल आर्मीले सुदूरपश्चिमलाई ७-० गोल अन्तरले हरायो।
आर्मीको जितमा कप्तान कृष्णा खत्रीले ५ गोल गरिन्। बाँकी गोल सर्मिला थापा मगर र बिमला चौधरीले गरिन्।
प्रतियोगिताको विजयी खेलाडी तथा टिमलाई स्वास्थ्य तथा खेलकुद मन्त्री राजन केसीले पुरस्कार वितरण गरे।