च्याम्पियन्स लिगमा दोस्रो सेमिफाइनलको पहिलो लेगमा रियल म्याड्रिडले बायर्न म्युनिखलाई उसकै घरेलु मैदानमा २-१ ले हराएको छ। रियलको जितमा मार्सेलो र असेन्सियोले गोल गरेका थिए।
यद्यपी खेलमा अग्रता भने घरेलु टोली बार्यन म्युनिखले लिएको थियो।
खेलको २८ औँ मिनेटमा जोसुआ किमिचले गोल गर्दै बार्यनलाई सुरुवाति अग्रता दिलाए। रियलका किपर केलर नाभासको गलत बुझाईका कारण किमिचले बायर्नलाई अग्रता दिलाए। दाँया विङ्गबाट बल दौडाएका किमिचले असहज एङ्गलबाट आफैंले प्रहार गर्दै क्रसको आशा गरेका नाभासलाई बिट गर्दै गोल गरेका थिए। तर ४४ औं मिनेटमा मार्सेलोले हाफ भली गोल गर्दै रियललाई पहिलो हाफमा १–१ को बराबरीमा ल्याए। बक्स नजिकबाट बाँया खुट्टाको उनको उत्कृष्ट प्रहार गोलमा परिणत भयो।
दोस्रो हाफमा मार्को असेन्सियोले ५७ औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाए। बक्सको बाँयाबाट फार पोस्टमा घरेलु टोलीका किपर उल्रेकलाई बिट गर्दै उनले गरेको गोल निर्णायक भएपछि रियल विजयी भयो।
रियलले यो जितसँगै बार्यनसँगको पछिल्ला ६ खेलमा विजयी भएको छ।
रियल मड्रिडले यो बार्यनमाथिको खेलमा जित निकाल्दै च्याम्पियन्स लिग जितमा कीर्तिमान नै बनाएको छ। यो रियलको च्याम्पियन्स लिगमा १५० औँ जित हो । लिगमा यति धेरै जित निकाल्ने रियल पहिलो टिम हो।
यो सँगै स्पेनिस क्लब रियल मड्रिडले लगातार तेस्रो सिजन च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्यसहितको यात्रामा आफूलाई बलियो रुपमा प्रस्तुत गरेको छ।
अब रियल र बायर्नबीचको दोस्रो लेगको खेल मे १ मा हुनेछ। खेल नेपाली समय अनुसार रातीको १२:३० मा हुनेछ।