आर्सनललाई हराउँदै एथ्लेटिको मड्रिड युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ। बिहिबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा इङ्लिस क्लब आर्सनललाई १-० गोलले पराजित गर्दै समग्रमा २ – १ को जितसहित स्पेनिस क्लब एथ्लेटिको उपाधि नजिक पुगेको हो।
घरेलु मैदानमा एथ्लेटिकोलाई जिताउन डिएगो कोष्टाले निर्णायक गोल गरे। उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए। उक्त गोल नै एथ्लेटिकोलाई फाइनलमा पुग्न प्रयाप्त रह्यो।
यसअघि आर्सनलको मैदानमा भएको दुई टोलीबीचको पहिलो लेग खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।
अब उपाधिको लागि एथ्लेटिकोले फ्रेन्च क्लब मार्सेलीसँग खेल्ने छ। मार्सेलीले अष्ट्रियाको रेडबुल साल्जवर्गलाई समग्रमा ३-२ गोल अन्तरले हराएर फाइनलमा प्रवेश गरेको हो।
बिहिबार राति नै भएको सेमिफाइनलको दोस्रो लेगमा १० खेलाडीमा सिमित साल्जवर्गसँग २-१ ले पराजित भए पनि पहिलो लेगको जितले मार्सेली फाइनलमा पुगेको हो। फाइनल खेल मे १६ मा लियोनमा हुनेछ ।