नेपालले महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भारतलाई सोमबार उसैको मैदानमा पराजित गर्दा कप्तान सावित्रा भण्डारी साम्बाले उत्कृष्ट प्रदर्शन गरिन्।
सोमबार भारतको सिलोङमा भएको खेलमा नेपालले घरेलु टोलीमाथि २-१ गोलको जित निकालेको थियो।
यो जितपछि साम्बाले गत असारमा भएको एसियाली कप छनोटको खेल फेरि सम्झिइन्। निर्णायक खेलमा उज्वेकिस्तानसंँग पेनाल्टी सुटआउटमा पराजित हुँदा नेपाल एसियाली कपमा छनोट हुने अवसरबाट चुकेको थियो। सो प्रतियोगितामा साम्बाले पहिलो पटक कप्तानको जिम्मेवारी पाएकी थिइन्।
'राष्ट्रिय टोलीसँग यो साता मिश्रित नतिजा आयो। तर भारतको चुनौतीलाई फेरि पार गर्नु यो महत्त्वपूर्ण थियो। एसियाली कप गुमाउनुको पिडा अझै छ किनकि हामीलाई थाहा छ कि हामी अझ उचाइमा पुग्न सक्षम छौं। अन्तिम अनौपचारिक मैत्रीपूर्ण खेलको लागि टोलीलाई शुभकामना किनकि यसले हाम्रो गहिराइ परीक्षण गर्न मद्दत गर्नेछ,' साम्बाको भनाइ छ।
भारतविरूद्ध फिफा विन्डोमा भएको यो खेललाई अन्तर्राष्ट्रिय मान्यता रहेको छ। यसअघि पहिलो खेलमा नेपालले इरानसँग हार ब्यहोरेको थियो। भारतको सिलोङमा इरानसँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ३-० ले पराजित भएको थियो। भारतले यसअघि इरानसँग २-० को हार ब्यहोरेको थियो। जसका कारण तीन देशबीचको यो सिरिजमा इरान पहिलो हुँदा नेपाल दोस्रो भयो।
अब नेपालले भारतसँग सिक्किममा कात्तिक १२ गते प्रतिस्पर्धा गर्नेछ। यद्यपी सो खेललाई अन्तर्राष्ट्रिय मान्यता हुनेछैन।
नेपाल र भारतको महिला फुटबल टोलीबीच एक वर्षपछि प्रतिस्पर्धा गरेको हो।
एक वर्षअघि काठमाडौंको दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भारत भिडेका थिए।
सो खेलको निर्धारित समयको खेल एक एक गोलको बराबरीमा सकिदा पेनाल्टी सुटआउटमा नेपाल ४-२ ले विजयी भएको थियो। सो खेलमा पनि सावित्राले नै नेपालका लागि बराबरी गरेकी थिइन्।
नेपाल र भारतको महिला फुटबल टोलीबीच अहिलेसम्म १९ खेल भएका छन्। जसमा नेपाल ३ खेलमा मात्र विजयी भएको छ भने भारतले ११ खेल जितेको छ। ५ खेल बराबरीमा सकिएका छन्।