नेपाल फुटबल खेलाडी संघले नेपाली महिला राष्ट्रिय फुटबल टोलीको व्यवस्थापनमा लापरवाही भएको भन्दै आपत्ति जनाएको छ।
सोमबार साँझ घरेलु टोली भारतविरूद्ध सिलोङमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको नेपाली टोली मंगलबार विहान सबेरै सिक्किम जान विमानस्थल पुगेको थियो। जसका कारण नेपाली खेलाडी अनिद्रा तथा भोकै यात्रा गर्न परेको भन्दै खेलाडी संघले आपत्ति जनाएको हो।
खेलाडी संघले नेपाली टोलीका खेलाडीसँग यात्राको विषयमा कुरा गरेको र खेलाडीहरुले पनि सार्वजनिक भएका तथ्य साँचो भएको बताएको छ।
‘नेपाली महिला राष्ट्रिय टोलीका खेलाडीको यात्राको विषयमा भएको खराब व्यवस्थापनको खबरले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यसबारे टिमका खेलाडीलाई नै सोध्दा उक्त खबर साँचो भएको थाहा पाएका छौं,’ संघको भनाइ छ।
यस्तै पहिलो खेल खेलेको ७२ घन्टा विश्राम लिनु पर्ने फिफाको निमय विपरित ४८ घन्टा भन्दा कम समयमा दोस्रो खेल खेलाउनु पनि गलत भएको संघको भनाइ छ।
सोमबार भारतसँग खेलेको नेपालले बुधबार भारतसँगै अर्को अनौपचारिक खेल खेल्दैछ।
खेलाडी संघले भनेको छ, ‘खेलाडीको स्वास्थ्यभन्दा ठूलो कुनै खेल हुँदैन। एक त फिफाले नै दुई खेलबीच ७२ घण्टा विश्रान राख्नुपर्नेमा ४८ घण्टा भन्दा कम समयमा खेल राख्ने कुरामा हाम्रो आपत्ति छ । यसबाहेक खेलको भोलिपल्ट अपुग निन्द्रामाथि खेलाडीलाई भोक्कै राखेर यात्रा गराउनुले एन्फाको खराब व्यवस्थापन पुन: एकपटक उदांगो गरेको छ। सिलोङमा खेल खेल्न जाँदाको व्यवस्थापनमाथि प्रशिक्षकले नै प्रश्न उठाउँदा समेत एन्फाले कुनै कदम नचाल्नुले हामीलाई अचम्मित तुल्याएको थियो । तर यसपटक एन्फा आफ्नै नियन्त्रणमा भएको पक्षमा समेत अव्यवस्थित यात्रा गराउनु गम्भीर विषय हो । बागडोराबाट अझै ६ घण्टा गाडीमा यात्रा गरेर भोलिपल्ट नै खेल खेल्न लगाउनु मानवीय हिसाबले पनि सहि होइन। खेलाडी संघ यस पत्रमार्फत नै या त खेल अर्को दिनको लागि स्थगित गर्न वा अनौपचारिक खेल भएकाले यसबारे पुनः सोच्न आग्रह गर्दछ।’
भारतमा विलय भएको ५० वर्षपछि सिक्किममा हुन लागेको पहिलो अन्तर्राष्ट्रिय खेलमा नेपाल र भारत भिड्दै
भारतमा विलय भएको ५० वर्षपछि बुधबार पहिलो पटक सिक्किमले अन्तर्राष्ट्रिय फुटबल खेल आयोजना गर्दैछ।
त्यसका लागि नेपाली महिला टोली भारतीय टोलीसँग भिड्न आज सिक्किम पुगेको छ।
सोमबार सिलोङमा घरेलु टोली भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली सिक्किमको गान्तोक गएको हो। यो खेल बिहीबार हुने भनिए पनि बुधबारका लागि सारिएको छ। जसका करण नेपाली हतार-हतार गान्तोक गएका हुन्।
सोमबार भारतविरूद्ध २-१ गोलको जित निकाल्दा कप्तान सावित्रा भण्डारी साम्बाले दुवै गोल गरेकी थिइन। बुधबार कप्तान साम्बासहित स्टार मिडफिल्डर प्रिति राई र गोलकिपर एन्जिला तुम्बापो सुब्बा भने नेपाली टोलीमा हुनेछैनन्।
सिक्किममा हुने यो पहिलो अन्तर्राष्ट्रिय खेल भए पनि अनौपचारिक मात्र हुने भएको छ। किनभने यो खेल फिफा विन्डोमा हुन लागेको भने होइन। त्यसका कारण यसलाई अन्तर्राष्ट्रिय मान्यता भने हुनेछैन।
पहिलो पटक अन्तर्राष्ट्रिय खेल हुने भएपछि सिक्किम फुटबल संघका अध्यक्ष मेनला एथेन्पाले लिखित वक्तव्यमा भनेका छन्, ‘सिक्किम फुटबलको इतिहासमा पहिलो पटक भारतको सिनियर राष्ट्रिय महिला फुटबल टोली र नेपालको सिनियर राष्ट्रिय महिला फुटबल टोलीबीच गान्तोकको पाल्जोर स्टेडियममा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदैछ।’
दक्षिण एसियाली फुटबल महासंघका महासचिव पुरुषोत्तम कट्टेल पनि यस खेलमा अतिथिको रूपमा उपस्थित हुनेछन्।
भारतीय महिला टोली २२ वर्षपछि एसिया कप २०२६ का लागि छनोट भएकाले यो खेलले धेरैको चासो जगाएको छ। भारतीय टोलीकी खेलाडी कालिम्पोङकी अन्जु तामाङले पनि खेल्दैछन्।
सिक्किम फुटबल संघका वरिष्ठ उपाध्यक्ष श्याम प्रधानले अन्जु तामाङले सिक्किममा फुटबल कौशल निखारेकाले उनी खेल्दा रौनक थपिने बताएका छन्। यस्तै भारतको यू-१७ महिला टोलीबाट खेल्ने सिक्किमकी अभिष्ठा बस्नेत उपस्थित हुने सम्भावना छ।
सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) यस खेलका प्रमुख अतिथि हुनेछन्। उनले मंगलबार गान्तोकमा खेलाडी र अफिसियलका लागि भव्य रात्रिभोजको पनि आयोजना गर्दैछन्।