इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई हराउँदै ब्राइटन रेलिगेशनबाट जोगिएको छ।
अवे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड ब्राइटनसँग १–० ले स्तब्ध भएको हो। यो सँगै युनाइटेडले उपाधि विजेता म्यानचेस्टर सिटीसँगको अंक दूरी कम गर्ने मौका गुमाएको छ।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा ब्राइटनका लागि दोस्रो हाफको ५७औं मिनेटमा पास्कल ग्रोसले गोल गरेर घरेलु टोलीलाई अग्रता दिलाए।
पास्कलको हेड बललाई मार्कस रोजोले क्लियर गर्ने प्रयास गरेका थिए तर बलले गोललाइन पार गरिसकेको थियो। गोललाइन प्रविधिका आधारमा ब्राइटनले गोल पायो। त्यही गोलनै निर्णायक भएपछि ब्राइटनले महत्वपूर्ण जित निकाल्दै घरेलु समर्थकलाई खुसी दिएको छ।
सन् १९८३ पछि यो सिजन पहिलो पटक प्रिमियर लिग फुटबल खेलेको उसले आउँदो सिजन पनि खेल्ने पक्का भएको हो।
लिगमा अब उसले म्यानचेस्टर सिटी र लिभरपुलसँग खेल्न बाँकी छ।
यो जितसँगै ३६ खेलबाट ९ जितसहित ४० अंक भएको ब्राइटन ११ औं स्थानमा उक्लिएको छ। पराजित म्यानचेस्टर युनाइटेड ७७ अंकसहित दोस्रो स्थानमा कायमै छ। एक खेल कम खेलेको सिटीको ९३ अंक भएको छ। तेस्रो स्थानको लिभरपुल ३६ खेलबाट ७२ तथा चौथो स्थानको टोटन्ह्याम ३५ खेलबाट ७१ अंकमाछन्। पाँचौ स्थानको चेल्सी ३५ खेलबाट ६६ अंक लिएको छ।