पाँचथरमा वर्षेनी सञ्चालन हुँदै आएको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको प्रतिष्ठा झनै बढेको छ।
हालै अखिल नेपाल फुटवल संघ (एन्फा)ले मोफसलमा हुने फुटवल प्रतियोगिताहरुलाई नियमित र ब्यवस्थित तुल्याउन गरेको गोल्डकपहरुको वर्गिकरणमा फाल्गुनन्द गोल्डकप ‘बी’ श्रेणीमा वर्गिकृत भएको छ ।
एन्फाले उपाध्यक्ष कृष्ण थापाको नेतृत्वमा गठन गरेको स्तर निर्धारण समितिले फाल्गुनन्द गोल्डकपलाई ‘बी’ श्रेणीमा राखेको हो। गत वर्षबाट यो प्रतियोगिता एन्फाको क्यालेण्डरमा समावेश भएको थियो ।
यस वर्ष भने एन्फाले दिएको समय तालिका अनुसार नै प्रतियोगिता आयोजना हुन लागेको हो। प्रतियोगिताको दशौँ संस्करण पुष २१ गतेदेखि ३० गतेसम्म पाँचथरको सदरमुकाम फिदिममा सञ्चालन हुँदैछ।
‘बी’ श्रेणीमा वर्गिकृत भएसँगै यस गोल्डकपले मापदण्डअनुसारको स्तरीय मैदानलाई तार जालीले घेरेको हुनुपर्ने तथा प्याराफिटको ब्यवस्था गरेको हुनुपर्ने, कम्तिमा ८ वटा टोली सहभागी हुनुपर्ने जसमा आधा ए डिभिजन क्लबहरु हुनुपर्ने, सहभागी क्लबका २३ जना खेलाडी, प्रशिक्षक र ब्यवस्थापकको व्यवस्थापन आयोजकले गर्नुपर्ने तथा आवश्यक प्राविधिक जनशक्ति प्रतियोगिताका लागि तयार गर्नुपर्ने मापदण्ड समेत एन्फाले तय गरेको छ ।
यसैगरि सुरक्षाको प्रवन्ध, प्लेयर बक्स, औषधी उपचारको ब्यवस्था, एम्बुलेन्सको उपलब्धता, दर्शकहरुलाई शौचालयको ब्यवस्था जस्ता पूर्वाधार समेत तय गर्न एन्फाले भनेको छ । यसले फाल्गुनन्द गोल्डकप झनै ब्यवस्थित र प्रतिष्ठित हुने अवसर प्रदान गरेको छ ।
१६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको स्मृतिमा उहाँकै कर्मभूमि फिदिममा प्रतियोगिता सञ्चालन हुँदै आएको छ । अघिल्ला वर्षसम्म फिदिम स्पोर्टिङ क्लबले आयोजना गर्ने गरेको प्रतियोगिता यस वर्ष क्लब सहित पाँचथर जिल्ला फुटवल संघले संयुक्त रुपमा आयोजना गरेका छन् । गोल्डकपको यस संस्करणमा ए डिभिजनका क्लबहरु त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, हिमालयन शेर्पा क्लब, ब्याइज युनियन क्लब, जावलाखेल युथ क्लब, सुनसरी ११, मोरङ ११ र झापा ११ सहभागी हुने भएका छन् । यसैगरि आयोजक फिदिम स्पोर्टिङ क्लब र छिमेकी जिल्ला ताप्लेजुङको कर्ण सिंह सोनाम क्लब प्रतियोगितामा सहभागी हुने भएका छन् । प्रतियोगिताको यस संस्करणको विजेताले चार लाख रुपैँया तथा उपविजेताले दुई लाख रुपैँया पुरस्कार प्राप्त गर्नेछन ।