सहारा क्लबको आयोजनमा भएको १७ औं संस्करणको फुटबल प्रतियोगिताबाट सबभन्दा कम रकम बचत भएको छ।
आहा रारा गोल्डकपको इतिहासमै क्लबले केबल १ लाख ४९ हजार रुपैयाँमात्रै फुटबल प्रतियोगिताबाट जोगाएको छ।
६९ लाख २९ हजार ४६० रुपैयाँ खर्च भएको क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए।
हिमश्री फुड्सको मुख्य प्रायोजनमा गत फागुन ९ गतदेखि १८ गतेसम्म फुटबल प्रतियोगिता सञ्चालित थियो।
मैदान, स्टेज, प्यारापिट व्यवस्थापनको लागि मात्रै ८ लाख ७७ हजार रुपैयाँ खर्च गरिएको थियो। गेट टिकट मात्रै क्लबले १५ लाख ५० हजार २६५ रुपैयाँको विक्री गरेको तथ्यांक छ। मुख्य प्रायोजकबाट १३ लाख ५१ हजार उपलब्ध गराउँदा राष्ट्रिय खेलकुद परिषदले ४ लाख रुपैयाँ सहयोग दिएको थियो।
गोर्खा ब्रुअरी नेपाल प्रालिले ४ लाख, हिमांश एजुकेशन कल्सन्टेन्सीले ४ लाख १ हजार, पृथ्वी राजमार्ग बस व्यवसाय समिति(हाल कम्पनी)ले १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको थियो।
क्लबले सञ्चालन तथा व्यवस्थापन खर्चतर्फ ६ लाख ६७ हजार रुपैयाँ खर्च गरेको थियो। प्रोत्साहन खर्चमा मात्रै १३ लाख २२ हजार रुपैयाँ खर्च गर्दा कास्की जिल्ला फुटबल संघलाई मैदान मर्मत सम्भार खर्च स्वरुप दुई लाख रुपैयाँ हस्तान्तरण गरेको थियो।
क्लबले कुल ७० लाख ७८ हजार आम्दानी गरेको उनले बताए।
क्लबले वर्षेनी आयोजित फुटबल प्रतियोगितबाट बचत रकम पोखरा १७ दोविल्लास्थित एकेडेमीमा रहेका २६ बाल खेलाडीको लागि खर्च गर्दै आएको छ।
विभिन्न संघसंस्थाको सहयोगबाटै एकेडेमी सञ्चालन हुँदै आएको छ। फुटबलसँगै बाल खेलाडीलाई क्लबले उच्च शिक्षासम्मको शिक्षा समेत दिँदै आएको छ।