साफ महिला च्याम्पियनसिपको छैटौं संस्करण आगामी मंगलबारदेखि काठमाडौंको दशरथ रंगशालामा सुरू हुँदैछ।
यसअघिका पाँच वटा संस्करणमा लगातार उपाधि जितेको भारत यसपटक पनि बलियो दाबेदार हो।
भारतले २०१० देखि २०१९ सम्म भएका पाँच संस्करणमा लगातार उपाधि जितेको थियो। सन् २०१६ बाहेक बाँकी चार संस्करणको फाइनलमा भारतले नेपाललाई हराएको थियो।
चार पटक फाइनल पुगेर पनि उपाधि जित्न नसकेको नेपालका लागि यसपटक पनि भारत नै मुख्य र बलियो प्रतिद्वन्द्वी हो।
अनुभवी खेलाडी र राम्रो महिला फुटबल प्रणालीका हिसाबले नेपालभन्दा भारत निकै बलियो टिम हो। फिफा वरीयतामा पनि नेपालभन्दा भारत ४४ स्थान माथि छ।
भारत फिफा वरीयतामा ५८औं स्थानमा छ भने नेपाल १०२औं स्थानमा छ।
भारतले सन् २०२२ मा ६ वटा अन्तर्राष्ट्रिय खेल खेलिसकेको छ। तर नेपालले भने सन् २०२२ मा अहिलेसम्म एउटा पनि अन्तर्राष्ट्रि खेल खेलेको छैन।
भारतले सन् २०२२ मा इरान, जोर्डन र इजिप्टको राष्ट्रिय टिमसँग खेलेको थियो। इरानसँग गोलरहित बराबरी खेलेको भारतले इजिप्ट र जोर्डनलाई हराएको थियो। इरान फिफा वरीयतामा ७०औं स्थानमा रहेको टिम हो।
यस्तै भारतले जुनमा स्विडेन र अमेरिकाको यू-२३ टिमसँग खेलेको थियो। अमेरिका र स्विडेन विश्व महिला फुटबलका उच्च श्रेणीका टिम हुन्। जसमा भारतलाई स्विडेनको यू-२३ टिमले १-० र अमेरिकाको यू-२३ टिमले ४-१ गोलले हराएका थिए। यस्तै अर्को खेलमा स्विडिस क्लबलाई भने भारतले ३-१ ले पराजित गरेको थियो।
भारतको प्रशिक्षकमा स्विडेनका थोमस डेनरबाइ नियुक्त भएपछि अमेरिका र स्विडेनको यू-२३ टिमसँग खेल्न सम्भव भएको थियो। जसका कारण भारतीय टिमलाई राम्रो अनुभव भएको थियो।
भारतको महिला फुटबल प्रणाली पनि नेपालको तुलनामा राम्रो छ। प्रदेश स्तरको लिगपछि भारतमा राष्ट्रिय महिला लिग हुने गरेको छ। जसमा नेपालका सावित्रा भण्डारी र अनिता बस्नेतले पनि खेलिसकेका छन्।
राम्रो महिला लिग प्रणाली भएकै कारण भारतको लिग च्याम्पियन गोकुलम केरला एएफसी च्याम्पियन्स लिगको छनोटमा पुगेको थियो। तर तत्कालिन फिफाको निलम्बनका कारण केरला उज्वेकिस्तान पुगेर पनि नखेली फर्कन परेको थियो।
भारतमा विदेशी क्लबमा आबद्ध भएका खेलाडी समेत छन्। गोलकिपर अदिती चौहानसँग इंग्लिस प्रिमियर लिग खेलेको अनुभव छ। उनी सन् २०१५ देखि २०१८ सम्ममा वेस्ट ह्याम युनाइटेडमा आबद्ध थिइन्। त्यतिबेला उनले सात खेल खेल्ने अवसर पाएकी थिइन्।
हाल टिममा रहेकी फरवार्ड मनिषा कल्यान यो सिजन साइप्रसको क्लबमा आबद्ध छिन्। यस्तै अर्की फरवार्ड ग्रेस डाङमेइ उज्वेकिस्तानको नासफ क्वार्सीमा आबद्ध छिन्।
घरेलु मैदानको फाइदा उठाएर यसपटकको साफ जित्ने लक्ष्यमा रहेको नेपालले अन्तर्राष्ट्रिय खेल नखेलेको एक वर्ष बितिसकेको छ।
नेपालले गत सेप्टेम्बरमा चार खेल खेलेको थियो। बंगलादेशविरुद्धको दुई मैत्रीपूर्ण खेलमध्ये एकमा जित र एकमा बराबरी खेलेको नेपालले एसियन कप छनोटमा फिलिपिन्ससँग भने २-१ को हार बेहोरेको थियो। यस्तै हङकङविरुद्ध नेपालले गोलरहित बराबरी खेलेको थियो।
नेपालका लागि लागि खुसीको खबर भनेको फरवार्ड सावित्रा भण्डारी साम्बा टिममा फर्कनु हो। एक वर्ष चोटका कारण मैदान बाहिर रहेकी सावित्रा गत माघमा मैदान फर्किएकी थिइन्।
मैदान फर्किए पनि उनले पर्याप्त खेल्न भने पाएकी छैनन्। महिला लिगको पहिलो चरणका खेल चितवनमा भएपछि दोस्रो चरणको लिग हालसम्म हुन सकेको छैन। महिला लिग समयमै नहुँदा सावित्रा मात्र होइन अन्य खेलाडीको पनि मैदानमा परीक्षण हुन पाएको छैन।
महिला राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मेवारी पाएका कुमार थापाको लक्ष्य साफ च्याम्पियनसिप जित्ने रहेको छ। केही वर्षअघि युरोपमा व्यवस्थापनको कोर्ष गरेका थापाले गत सिजनको ए डिभिजन लिगमा एपिएफलाई प्रशिक्षण दिएका थिए।
खेलाडी जस्तै प्रशिक्षणको कोर्षमा पनि अब्बल ठहरिएका कुमारका लागि नेपाललाई साफ जिताउन सजिलो भने छैन। नेपालको कमजोर धरातलको महिला फुटबललाई बिर्सिएर नेपाली टिमलाई हौसला दिनु पर्ने अवस्थामा छन् कुमार। तर घरेलु मैदान र कुशल रणनीति मैदानमा सफल भए नेपालले भारतलाई हराउनै नसक्ने पनि होइन।
यसपटकको साफ च्याम्पियनसिपमा नेपालले समूह चरणमा भुटान र श्रीलंकासँग खेल्नेछ। अर्को समूह ‘ए’ मा भारतसहित बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन्।
नेपालले पहिलो खेल भदौ २१ मा भुटानसँग खेल्नेछ। त्यसको ६ दिनपछि नेपालले दोस्रो खेलमा भदौ २७ मा श्रीलंकासँग खेल्ने तालिका छ।
शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने प्रावधानअनुसार छ। नेपालले सम्भवत: भारतसँग फाइनलमा भिड्ने अनुमान लगाउन सकिन्छ।
नेपाली टिम
गोलकिपरः एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ
डिफेन्डरः हिरा कुमारी भुजेल, अमृता जैशी, गीता राणा, पुनमजर्घा मगर, निशा थोकर, समीक्षा घिमिरे, विमला विक
मिडफिल्डरः विमला चौधरी, मञ्जली कुमारी योञ्जन, प्रीति राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी
फरवार्डः अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ