ब्राजिलका १७ वर्षीय स्ट्राइकर इन्ड्रिकले शनिबार भएको मैत्रीपूर्ण खेलमा देशका लागि निर्णायक गोल गरे।
गत वर्ष राष्ट्रिय टिममा डेब्यू गरेका इन्ड्रिकले तेस्रो खेलमै अन्तर्राष्ट्रिय गोल गर्न सफल भएका हुन्। उनको निर्णायक गोलमा ब्राजिलले इंग्ल्यान्डलाई उसैको घरेलु मैदानमा १-० गोलले पराजित गर्यो। यससँगै उनको तुलना ब्राजिलका महान् फुटबलहरू हुन थालेको छ।
इन्ड्रिकको पूरा नाम इन्ड्रिक फिलिप मोनेइरा डै साउसा हो। उनी ब्राजिलको शीर्ष डिभिजनको क्लब पाल्मेइरासको युवा टिममा ११ वर्षकै उमेरमा आबद्ध भएका थिए।
अप्रिल २०२२ मा उनले ब्राजिलको यू-१६ टिमले मोन्टाइगु प्रतियोगिता जित्दा उत्कृष्ट प्रदर्शन गरेका थिए। सो प्रतियोगितामा पाँच गोल गरेपछि उनी चर्चामा आएका थिए।
उनले २०२२ कै अक्टोबरमा पाल्मेइरास सिनियर टिममा डेब्यू गरेका थिए। त्यतिबेला उनका बुबाआमाले इंग्लिस क्लब चेल्सीको अभ्यास मैदान समेत भ्रमण गरेका थिए। तर इंग्लिस क्लबले कुनै सम्झौता गरेन।
त्यसपछि स्पेनिस क्लब रियल म्याड्रिडले उनीमाथि चासो देखायो। सन् २०२२ मा रियलले इन्ड्रिकलाई भित्र्याउने घोषणा गर्यो।
२०२४ को जुलाइमा उनी १८ वर्ष पूरा भएपछि रियलले उनीसँग सम्झौता गर्नेछ। उनको औपचारिक सम्झौताको अवधि र रकम भने खुलाइएको छैन। तर कतिपय सामाचार संस्थाहरुले उनीसँग तीन वर्षको सम्झौता हुने र ७२ मिलियन युरोमा सम्झौता हुने सार्वजनिक गरेका छन्।
सन् २०२२ यता ब्राजिलको शीर्ष डिभिजनका लागि ३८ खेलमा उनले १४ गोल गरिसकेका छन्।
उनी आगामी सिजन रियलमा आबद्ध भएसँगै उनले देशका भिनिसिय जुनियर र रोद्रिगोसँगै इंग्ल्यान्डका बेलिङघम र फ्रान्सका एमबाप्पेसँगै खेल्नेछन्। जसले रियलको टिम आगामी सिजन झनै बलियो हुने विश्वास गरिएको छ।