कोपा अमेरिकाको सेमिफाइनलमा कोलम्बियासँग १-० ले पराजित भएपछि उरूग्वेका समर्थक क्रुद बनेका छन्।
अमेरिकाको नर्थ क्यारोलिनास्थित बैंक अफ अमेरिका रंगशालामा फ्यानहरूले झगडा गरिरहदा उरूग्वेका फरवार्ड डार्विन नुनेजसहित अरु खेलाडीहरू प्यारापिटमा गएका छन्।
विवादास्पद खेलमा मेक्सिकोका रेफ्री सेजर रामोसको अन्तिम सिठ्ठी फुकेपछि उरूग्वेको डकआउट पछाडि झडप भएको थियो।
रंगशालामा उपस्थित ७०,६४४ जनाको भिडमा कोलम्बियाको पक्षमा करिब ९०% समर्थक थिए। तर उरूग्वेका फ्यानहरूको सानो समूहले कोलम्बियाका समर्थकहरूलाई पेय पदार्थ फालेपछि झगडा सुरू भएको थियो।
फ्यानबीच झडप हुन थालेपछि नुनेज र टोलीका साथीहरू भिडलाई पछ्याउँदै सिँढी चढेका थिए। एउटा भिडियोमा नुनेजले कोलम्बियाली टोलीको जर्सी लगाएका फ्यानलाई हिर्काएको देखिएको छ।
उरूग्वेका कप्तान जोस गिमेनेजले खेलाडीहरू आफ्नो परिवारलाई बचाउन भिडमा गएको बताएका छन्।
‘हाम्रो परिवार खतरामा थिए। साना बच्चासहितका हाम्रा प्रियजनहरूलाई बाहिर निकाल्न जानुपर्यो,’ कप्तानले टियुडिएनसँग गरेको कुराकानी उधृत गर्दै समाचार संस्था एपीले लेखेको छ।
प्रहरीलाई घटनास्थलमा पुग्न र स्थिति सहज पार्न १० मिनेटभन्दा बढी समय लागेको थियो । उद्घोषकले फ्यानहरूलाई स्टेडियम छोड्न आग्रह गरे पनि धेरै समर्थकहरू रंगशालामा बसेका थिए।
करिब १०० उरूग्वेका फ्यानहरू र महासंघका कर्मचारीहरू खेल सकिएको २० मिनेटभन्दा बढी समय आफ्नै सुरक्षाका लागि मैदानमा रहेका थिए। जबकि कोलम्बियाका फ्यानहरू उत्सव मनाउन बाहिर निस्केका थिए।
पहिलो हाफमा अग्रता लिएको केहीबेरमा दश खेलाडीमा सीमित भए पनि कोलम्बियाले उरूग्वेलाई पराजित गर्दै फाइनलमा स्थान बनायो। अब उपाधिका लागि कोलम्बिया र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ।