पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आफू यसै महिना अमेरिका हुने क्लब विश्वकपमा सहभागी नहुने बताएका छन्। उनले प्रतियोगितामा सहभागी टिमहरूबाट आएका प्रस्तावहरूलाई अस्वीकार गरेको बीबीसीले दाबी गरेको छ। यो वर्ष संसारका ३२ क्लबबीच क्लब विश्वकपको नयाँ स्वरुप सञ्चालन हुँदैछ।
४० वर्षीय रोनाल्डोको साउदी अरेबियन क्लब अल-नासरसँगको सम्झौता यहि जुनको अन्त्यमा सकिँदैछ।
गत मे महिनामा अल-नासर क्लब विश्वकपमा छनोट हुन असफल भएपछि फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले रोनाल्डो क्लब विश्वकपका लागि कुनै टिममा सामेल हुन सक्ने सम्भावना औंल्याएका थिए।
रोनाल्डोले भने, ‘म क्लब विश्वकपमा हुने छैन। केही टिमहरूले मसँग सम्पर्क गरेका थिए। केही प्रस्तावहरू उपयुक्त लागे, केही लागेनन्। तर, तपाईंले सबै कुरा गर्न प्रयास गर्न सक्नुहुन्न। सबै अवसरहरूलाई अँगाल्न सकिँदैन।’
मे महिनामा अल-नासरको सिजनको अन्तिम लिग खेलपछि रोनाल्डोले सामाजिक सञ्जालमा ‘यो अध्याय समाप्त भयो’ भनेर पोस्ट गरेका थिए, जसले गर्दा उनी अन्यत्र जान लागेको अड्कलबाजी सुरु भएको थियो।
तर, बीबीसी स्पोर्ट्सको दाबीअनुसार अल-नासरले रोनाल्डोको सम्झौता नवीकरण गर्नेमा विश्वस्त छ।
आइतबार स्पेनविरुद्ध हुने नेसन्स लिगको फाइनल खेलअघि बोल्दै रोनाल्डोले आफ्नो भविष्यबारेको निर्णय ‘लगभग अन्तिम’ भइसकेको बताएका छन्।
म्यानचेस्टर युनाइटेडसँगको सम्झौतापछि रोनाल्डो २०२३ मा अल-नासरमा अनुबन्धित भएका थिए।
उनले क्लबका लागि १११ खेलमा ९९ गोल गरेका छन्, जसमा गत सिजन ४१ खेलमा ३५ गोल सामेल छ।
बुधबार जर्मनीविरुद्धको खेलमा रोनाल्डोले निर्णायक गोल गर्दै पोर्चुगललाई २-१ को जित दिलाएका थिए, जसले गर्दा पोर्चुगल नेसन्स लिगको फाइनलमा पुगेको थियो।