नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदका कर्मचारीले बढुवा प्रक्रिया रोकिएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।
बिहीबार परिषदमा पत्रकार सम्मेलन आयोजना गर्दै राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।
कर्मचारी संघले साउन २६ गते कोण सभा गर्ने, साउन २८ देखि ३० सम्म कालो पट्टी बाँधेर काम गर्ने, साउन ३१ गते कालो पट्टी बाँधेर एक घन्टा पेनडाउन गर्ने तथा साउन ३२ र भदौ १ गते कालो पट्टी बाँधेर दुई घन्टा पेनडाउन गर्ने आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन्।
खेलकुद परिषदको बोर्ड बैठकले निर्णय गर्दै बढुवा प्रक्रिया अघि बढाएर अन्तिम चरण पुगेर रोकिएपछि कर्मचारी आन्दोलित हुन लागेका हुन्।
खेलकुद मन्त्रालयमा रहेका केही कर्मचारीले राष्ट्रिय खेलकुद परिषदप्रति रहेको असहयोगले बढुवा प्रक्रिया रोकिएको कर्मचारी संघको भनाइ छ।
कर्मचारी संघका अनुसार २७ वर्षदेखि खेलकुद परिषदका कर्मचारीको बढुवा प्रक्रिया रोकिएको छ। अहिले ३८५ जना कर्मचारी बढुवा प्रक्रिया रहेको कर्मचारी संघले बताएको छ।
कर्मचारी बढुवा रोकिदा संस्थागत रुपमा ठूलो समस्या सिर्जना भइ खेलाडी तथा प्रशिक्षक समेत पलायन भइरहेको पनि कर्मचारी संघको भनाइ छ।
पहिलो चरणको आन्दोलनबाट समस्या समाधान नभए दोस्रो चरणको आन्दोलन घोषणा गर्ने कर्मचारी संघकी अध्यक्ष सरस्वती केसीको भनाइ छ।