फिफा विश्वकप २०२२ अन्तर्गत आज समूह ‘ई’ र समूह ‘एफ’ का निर्णायक तथा अन्तिम चरणका खेल हुँदैछन्।
समूह ‘ई’ मा जापानविरुद्ध स्पेन तथा जर्मनीविरुद्ध कोस्टारिका भिड्दैछन्। समूहमा स्पेन ४ अंक जोडेर शीर्ष स्थानमा छ भने दोस्रो स्थानको जापान र तेस्रो स्थानको कोस्टारिकाको ३-३ अंक छ। पुछारको जर्मनीको १ अंक छ।
यता समूह ‘एफ’ मा मोरक्कोविरुद्ध क्यानडा तथा क्रोएसियाविरुद्ध बेल्जियमबीच खेल हुँदैछ। क्रोसिया र मोरक्को ६-६ अंक जोडेर समूहको पहिलो र दोस्रो स्थानमा छ। समूहमा बेल्जियम ३ अंकसहित दोस्रो स्थानमा छ भने पुछारको क्यानडा लगातार दुई खेलमा पराजित हुँदै बाहिरिसकेको छ।
अन्तिम १६ मा पुग्न कुन टिमलाई के चाहिन्छ?
समूह एफ
क्यानडा भर्सेस मोरक्को - १ डिसेम्बर, राति ८:४५ बजे
क्रोएसिया भर्सेस बेल्जियम - १ डिसेम्बर, राति ८:४५ बजे
- क्रोएसिया जित वा बराबरी खेले अन्तिम १६ मा पुग्छ। हार बेहोरेको अवस्थामा क्रोसियालाई अन्तिम १६ मा पुग्न क्यानडाले मोरक्कोलाई पराजित गर्नु पर्छ। यस्तो हुँदा गोलअन्तरको आधारमा अन्तिम १६ मा पुग्ने टिमको टुंगो लाग्नेछ।
- मोरक्को जित वा बराबरी खेले प्रिक्वार्टरफाइनलमा पुग्छ। हारेको अवस्थामा मोरक्को अन्तिम १६ मा पुग्न बेल्जिमयले क्रोएसियालाई पराजित गर्न पर्छ। यस्तो अवस्थामा क्रोएसिया वा मोरक्को गोलअन्तरको आधारमा अन्तिम १६ मा पुग्नेछ।
- क्रोएसियालाई हराए मात्र बेल्जियम राउन्ड अफ १६ मा पुग्नेछ। हारले बेल्जियम बाहिरिनेछ। बराबरी खेलेको बेल्जिमलाई अन्तिम १६ मा पुग्न क्यानडाले मोरक्कोलाई हराउन पर्छ। यसो हुँदा गोलअन्तरको आधारमा बेल्जियम समिकरणमा रहनेछ।
- सुरुवाती दुई खेल गुमाएपछि क्यानडा यसअघि नै बाहिरिएको छ।
समूह ई
कोस्टारिका भर्सेस जर्मनी – १ डिसेम्बर, राति १२:४५ बजे
जापान भर्सेस स्पेन – १ डिसेम्बर, राति १२:४५ बजे
- स्पेनले जित वा बराबरी खेले राउन्ड अफ १६ मा पुग्नेछ। जापानसँगको हारले पनि गोलअन्तरमा स्पेन अघि रहन सक्छ। कोस्टारिकाले जर्मनीलाई हराउँदा र आफू जापानसँग पराजित हुँदा भने स्पेन बाहिरिनेछ।
- जापानले स्पेनविरुद्ध जित हासिल गरे अन्तिम १६ मा पुग्नेछ। जबकी कोस्टारिकाविरुद्ध जर्मनीले जितेमा बराबरी भए पनि जापान अन्तिम १६ मा पुग्न सक्छ। स्पेनसँग पराजित भएर वा खेल बराबरीमा टुंगिएमा जपान बाहिरन सक्छ। त्यसको लागि अर्को खेलमा कोस्टारिका विजयी हुनुपर्छ।
- जर्मनीलाई हराउन सके कोस्टारिका अन्तिम १६ मा पुग्न सक्छ। बराबरीले पनि कोस्टारिका अन्तिम १६ मा पुग्न सक्छ। त्यसका लागि भने स्पेनले जापानलाई पराजित गर्नु पर्छ। जापानले जितेमा बराबरी गरेको कोस्टारिका बाहिरिनेछ। दुवै खेल बराबरीमा सकिए कोस्टारिका बाहिरन सक्छ।
- जर्मनीलाई अन्तिम १६ मा पुग्न जितको विकल्प छैन। कोस्टारिकामाथिको जर्मनीको जित र जापानविरुद्ध स्पेनको जितले जर्मनी अन्तिम १६ मा पुग्न सक्छ। जापान र स्पेनबीच बराबरी भएमा पनि जर्मनीको भाग्य खुल्न सक्छ। तर यसका लागि जर्मनीले जापानलाई गोलअन्तरमा पछि पार्नु पर्छ। जापानले जितेको अवस्थामा पनि जर्मनीले स्पेनलाई पछि पार्न गोलअन्तर नै चाहिन्छ। यसर्थ जर्मनीलाई अन्तिम १६ मा पुग्न ठूलो अन्तरको जित आवश्यक छ।