कतारमा जारी विश्वकप २०२२ मा नोभेम्बर २६ मा अर्जेन्टिना र मेक्सिकोबीच खेल थियो। अर्जेन्टिनाले मेक्सिकोविरूद्ध ६४ औं मिनेटमा १ गोल गरिसकेको थियो। ८६ औं मिनेटमा रोड्रिगो डि पल कर्नर प्रहारका लागि पुग्दा अर्जेन्टिनाको रणनीतिबारे मेक्सिकोका खेलाडीले सम्भवत: ध्यानै दिएका थिएनन्। अर्जेन्टिनाले आफ्नो झिनो अग्रतालाई कायमै राख्ने प्रयास जारी राखेको मेक्सिकोको बुझाइ थियो।
कर्नरबाट पेनाल्टी एरियामा प्रहार नगरी रोड्रिगोले बल मेसीलाई पास दिए। मेसीले इन्जो फर्नान्डिजको खुट्टामा बल पुर्याए।
पेनाल्टी एरियाको छेउमै रहेका इन्जोले एकछिन बल खेलाए। त्यसपछि उनले अनुवित्त आकृति अर्थात् प्याराबोला सट प्रहार गरे। इन्जोले प्रहार गरेको बलले मेक्सिकोको गोलपोष्टको जाली चुम्यो। त्यही गोलसँगै अर्जेन्टिना अघिल्लो चरणमा उक्लियो, मेक्सिकोको विश्वकप सपना समूह चरणमै चक्नाचुर भयो।
सतहमा हेर्दा अर्जेन्टिनाको जादु रोक्न मेक्सिकोका गोलकिपर ओचावा र उनको टिमका अन्य सदस्य सफल भएनन्। तर यो नतिजा स्टुवार्ट रिडका लागि भने अपेक्षित नै थियो।
रिडले सयौं कर्नर प्रहारका दृश्य हेरेका छन्। प्रहार शैलीलाई मिहिन ढंगले अध्ययन र सूचीवद्ध गरेका छन्।
केही वर्षयता रिडले कर्नर प्रहारको डेटावेस तयार गरेका छन्। कस्ता सट सफल भए र कस्ता निष्प्रभावी भए भन्ने सूची उनीसँग छ।
कर्नर प्रहारको विश्लेषणमा उनले दक्षता नै हासिल गरेका छन्। आफ्नो शोखलाई उनले पेशामा बदलेका छन्। धेरै वटा क्लबमा उनले परामर्शदाताको काम गरेका छन्। कर्नर किक, फ्री किक प्रहारका रणनीति बनाउन उनले प्रशिक्षकहरूलाई सल्लाह दिन्छन्। आफ्नो पेशाबारे रिड भन्छन्- कसैलाई निर्देशन दिनेभन्दा पनि सहयोग गर्नु मेरो पेशागत दायित्व हो।
रिड जति धेरै कर्नर हेर्छन्, त्यति नै केही न केही नयाँ कुरा देख्छन्। फुटबल अहिले विश्वव्यापी खेल भइसक्यो। कुनै टिम वा खेलाडीको नौलो कुरा एक निमेषमै अर्कोले नक्कल गर्न सक्छन्। तर मेसो नै नपाउने क्षेत्रलाई रिडले पेसा बनाएका छन्। रिड यतिसम्म पोख्त भएका छन् कि बल प्रहारको शैली, रक्षात्मक कौशल र कर्नर प्रहार हेरेर क्लबको खेलाडी कहाँको हो भन्ने उनी थाहा पाउँछन्।
कर्नर प्रहारलाई रोक्ने दुई तरिका छन्। पहिलो परम्परागत तरिका। जहाँ डिफेन्डरले प्रहार गर्ने व्यक्तिलाई घेर्छ। अर्को पेनाल्टी एरियामा रक्षा पंक्तिलाई तैनाथ गर्ने तरिका, यसलाई जोनल मार्किङ भनिन्छ।
अहिले पनि कर्नर प्रहार रक्षाका लागि दुबै तरिकाको समिश्रण देख्न पाइन्छ। तर कतिपय मुलुकले भने दुईमध्ये एकलाई नै प्राथमिकता दिएका हुन्छन्। उदाहरणका लागि ब्राजिलले जोनल मार्किङ अपनाउँछ। कर्नरलाई निष्प्रभावी बनाउन उसले ६ जनाभन्दा बढीलाई त्यहाँ तैनाथ गराउँछ।
ब्राजिलको रक्षा कौशलले नै उसको खेललाई पृथक बनाउँछ।
‘विपक्षीको प्रहारलाई उनीहरू यति आक्रामक रूपमा रक्षा गर्छन् की बल गोलकिपर नजिक नै आउन पाउँदैन,’ रिडले भनेका छन्।
ब्राजिलको शैली अर्जेन्टिनाभन्दा ठीक उल्टो छ। दक्षिण अमेरिकी क्षेत्रका दुई मुलुक धेरै कुरामा एक-अर्काभन्दा ठीक उल्टो छन्। अर्जेन्टिनाले जोनल मार्किङ भन्दा वान-टु- वान शैली अपनाउँछ।
कर्नर प्रहार निष्प्रभावी बनाउन पोर्चुगल र नेदरल्याण्डले पनि पृथक शैली अपनाउँछन्। पोर्चुगलको रक्षापंक्ति बलियो छ। फरवार्ड भने क्रिष्टियानो रोनाल्डोमै निर्भर छ।
‘कर्नर प्रहार निष्प्रभावी बनाउन पोर्चुगलले पनि जोनल मार्किङ अपनाउँछ। यो तरिकाको ठूलो फ्यान पोर्चुगल नै हो,’ रिड भन्छन्।
रिडका अनुसार पोर्चुगलका घरेलु लिग खेल्ने १७ वटै टोलीले यो तरिका अपनाउँछन्। नेदरल्याण्डले भने ठ्याक्कै उल्टो नीति अपनाउँछ। नेदरल्याण्डले सबै खेलाडीलाई डिफेन्ड र फरवार्डका लागि प्रेरित गर्छ। कर्नर प्रहारलाई डचले व्यक्तिगत भिडन्तका रूपमा लिने रिड बताउँछन्।‘विपक्षी प्रत्येकलाई डचले पहिल्याउँछन्। जोनल एरियामा जम्मा दुई खेलाडी मात्रै राख्नुको डच टोलीको कमजोरी हो,’ उनी भन्छन्।
रिडको मुल्यांकनमा उत्तर युरोपेली क्षेत्रका टोलीले कर्नर सिधा प्रहार गर्छन्। भिजेको हिले मैदानमा खेल्नुपर्ने कारणले गर्दा उनीहरू प्राय: कलात्मक पास खेल्दैनन्। डेनमार्कको कर्नर शैली हेर्दा उसले पनि जोनल मार्किङलाई अपनाउँछ। अग्ला खेलाडीलाई उभ्याएर विपक्षीलाई दबाबमा राख्न खोज्छ।
‘कर्नर निष्प्रभावी पार्नका निम्ति अग्ला खेलाडी उभिँदा गोलकिपरलाई केही राहत हुन्छ तर फरवार्डको खुट्टामा बल पुगे उनीहरूको लागि राम्रो मौका हुन्छ,’ रिडको मूल्यांकन छ।
गोलका निम्ति कर्नर प्रभावकारी मौका होइन। प्रत्येक ९ कर्नरमध्ये १ सफल हुने अनुसन्धानहरूको दाबी छ। धेरै टोलीहरूले कर्नरबाहेक अन्य रणनीतिमा ध्यान केन्द्रित गर्दा स्पेनले भने कर्नरलाई नै बलियो बनाइरहेको छ। स्पेनले कर्नरको परम्परागत शैलीलाई पछ्याउँदैन।
छोटो पास खेल्ने अर्थात् टिकीटाका शैली अहिले जोखिमपूर्ण हुनसक्छ। तर यही शैलीकै कारण स्पेनले युरोपियन च्याम्पियनसिपका केही संस्करण तथा विश्वकप जित्न सफल भएको थियो।
स्पेनका प्रशिक्षक लुइस इनरिकले टिकीटाका शैलीलाई आधुनिकीकरणको प्रयास गरेका छन्। मैदानको हरेक भागमा हुने खेलाडीलाई आक्रामक खेल्न उनले प्रेरित गरिरहेका छन्।
स्पेनिस टोलीले कर्नरलाई भरमग्दुर उपयोग गर्छ।
‘लालिगाको गत सिजनमा हेर्ने हो भने पनि स्पेनिस टोलीले दुई तिहाइ कर्नर प्रहार सफल बनाएका छन्,’ रिड भन्छन्,‘अरूका निम्ति कर्नर स्कोरको चिठ्ठा हुनसक्छ तर स्पेनका लागि कर्नर उसको शक्ति र खेल सौन्दर्य दर्शाउने माध्यम हो।’
(द न्युयोर्क टाइम्समा प्रकाशित सामग्रीको भावानुवाद।)