यो वर्षको सुरूमा बेलायतको ग्लास्गोस्थित रंगशालामा १०० वर्षअघि बितेका एक जना फुटबलरको सम्मानमा मैत्रीपूर्ण खेल आयोजना भयो।
टोटनह्याम हट्सपर र रेन्जर्सबीचको मेत्रीपूर्ण खेल हेर्न ४३ हजार दर्शक ओइरिए। एक शताब्दीअघि बितेका फुटबलर हुन्, वाल्टर टल।
वाल्टर इंग्ल्याण्डको ग्रामीण क्षेत्र फोल्कस्टोनमा सन् १८८८ मा जन्मिएका थिए। उनका बुवा अश्वेत थिए भने आमा श्वेत थिइन्। आमा-बुवाको मृत्यु हुँदा वाल्टर ९ वर्षका थिए। वाल्टर र उनका भाइ एडवार्ड त्यसपछि अनाथ आश्रममा पुगे। उनका भाइ एडवार्डलाई कसैले धर्म छोरा बनाएर लग्यो। एक्लिएका वाल्टरले त्यसपछि अनाथहरूसँगै फुटबल खेल्न थाले।
वाल्टरको फुटबल कौशलप्रति स्थानीय क्ल्याप्टन एफसी नामक क्लब आकर्षित भयो। सन् १९०८ को अक्टोबरदेखि उनी त्यहाँ आवद्ध पनि भए। उनकै प्रदर्शनका कारण क्लबले एफए कप जित्यो। लण्डनको फुटबल जर्नल द फुटबल स्टारले उनलाई सिजनकै अब्बल खेलाडीका रूपमा चित्रण गर्यो।
एफए कप जितेको एक वर्षपछि इंग्ल्याण्डकै ठूलो क्लब टोटनह्याम हट्सपरले उनलाई बोलायो। फर्वाडका रूपमा उनी सडरल्याण्ड तथा म्यान्चेस्टर युनाइटेडविरूद्ध उत्रिए। १० खेल खेलेका उनले २ गोल गरेका थिए। फुटबलका अब्बल यी खेलाडीले अश्वेत भएका कारण विभेद खेप्नुपर्यो।
सन् १९०९ अक्टोबरमा ब्रिस्टोल सहरमा खेलको आयोजना भएको थियो। त्यहाँ वाल्टरले विभेदको सामना गर्नुपर्यो।
‘भीडले उनलाई अपशब्द प्रयोग गर्दै बारम्बार गिज्यायो,’ द फुटबल स्टारले लेखेको थियो।
त्यस घटनापछि टोटनह्यामले उनलाई अतिरिक्त खेलाडीको सूचीमा समावेश गर्यो। टोटनह्यामको निर्णय नियतवश थियो वा भीडबाट कुनै असुरक्षित गतिविधि नहोस् भन्ने सजगता क्लबले दर्शायो भन्ने कुरा अझैसम्म पनि स्पष्ट छैन। कारण जे सुकै होस् २ वर्षसम्म वाल्टर अतिरिक्त सूचीमा मात्रै समावेश भए। नर्थ एम्पटन टाउनले सन् १९११ मा नभित्र्याउँदासम्म वाल्टर मैदान जान सकेका थिएनन्।
नर्थ एम्पटन टाउनका व्यवस्थापक हर्बट च्यापम्यानले वाल्टरलाई क्लबमा भित्र्याएका थिए। पहिलो विश्वयुद्ध सुरू हुनुअघि क्लबका तर्फबाट उनले एक सयभन्दा बढी खेल खेलेका थिए। सन् १९१४ मा पहिलो विश्वयुद्ध सुरू भएपछि उनको खेल जीवन अवरूद्ध बन्न पुग्यो।
सन् १९१४ को डिसेम्बरमा ब्रिटिस आर्मीको १७ औं बटालियनमा उनलाई समावेश गराइयो। त्यसलाई फुटबलर बटालियन पनि भनिन्थ्यो। सन् १९१५ सम्म २ सय जना व्यावसायिक फुटबलर बटालियनमा समावेश भए।
सन् १९१५ मा वाल्टर फ्रान्स पुगे। सन् १९१६ को अन्त्यसम्म उनी सोमको युद्धमा होमिए। चार महिनासम्म चलेको युद्धमा १० लाख सैनिकको ज्यान गएको थियो। बेलायती सेनाकै ४ लाख २० हजार सैनिक घाइते भएका थिए भने १ लाख २५ हजार सैनिकले सहादत प्राप्त गरेका थिए।
त्यो युद्धमा वाल्टर बाँचे तर उनी गम्भीर घाइते भएपछि बेलायत फर्किए। फुटबलको मैदानमा मात्रै नभएर रणभूमिमा पनि उनको कौशल देखेर वरिष्ठ अधिकृतहरू वाल्टरदेखि निकै प्रभावित थिए। घाइते वाल्टरलाई केही समयको आरामपछि स्कटल्याण्डस्थित अधिकृत तालिम प्रशिक्षण केन्द्रमा पठाइयो। वाल्टरकै लागि त्यसको नियमावली खारेज भयो। नियमावलीमा लेखिएको थियो, ‘सैन्य तालिमका लागि अश्वेत नागरिकलाई जिम्मेवारी दिइने छैन।’
वाल्टरको क्षमताबाट नतमस्तक हुँदै सेनाको त्यो नियमावली नै खारेज भयो। वाल्टर स्कटल्याण्डमै हुँदा उनलाई रेन्जर्सले युद्ध सकिएपछि क्लबबाट खेल्न सम्झौता गर्यो। मे १९१७ मा वाल्टर सेकेन्ड लेफ्टिनेन्ट भएका थिए। सन् १९१८ मा उनी इटालीमा भएको युद्ध लड्न पुगे। २६ जनाको नेतृत्व गर्दै उनी पिएभ नदी पुगेका थिए। उनले त्यहाँ दुश्मनलाई हायकायल मात्रै पारेनन् २६ जनाकै समूहलाई सकुशल फर्काए।
त्यहाँबाट फर्किएपछि उनले सेना परिषद्लाई खिज्याए।
‘श्वेत अधिकारीहरू अश्वेतका निर्देशन टेर्दैनन्। निर्देशन टेर्दा र नटेर्दाको नतिजा तपाईंहरू समक्ष नै छ,’ वाल्टरको जीवनी लेखेका फिल वसिलले उनको अभिव्यक्तिबारे भनेका छन्।
सन् १९१८ मा वाल्टर २३ औं बटालियन लिएर फ्रान्सको उत्तरी इलाकामा पुगे। सूर्योदयपूर्व नै त्यहाँ जर्मनीका सेनाले बेलायती सेनामाथि हमला गर्यो। पाँच घन्टाको दौरानमा ६ हनार ६ सय राउन्ड गोली फायर भएको थियो भने ३ लाख ५० हजार युनिट विष्फोटक पदार्थ प्रहार भएको थियो। त्यो युद्धमा ४ लाख १८ हजार बेलायती सैनिक घाइते भए। घाइतेको सूचीमा वाल्टर पनि परे।
सन् १९१८ मार्चमा वाल्टर मारिए। भिडन्तमा लिसेस्टरका पूर्व गोलकिपर टम विल्गंमले वाल्टरलाई बचाउन खोजेका थिए तर उनी असफल भए। भीडन्त सकिएपछि खोज्दा वाल्टरको शव समेत फेला परेन।
शव फेला नपरेपछि बेलायती फुटबल टिमका पहिलो अश्वेत खेलाडी र बेलायती सेनाका पहिलो अश्वेत अधिकृतको स्मारक आरस मेमोरियल पार्कमा छ। त्यहाँ ३४ हजार ७ सय ९४ जनालाई गाडिएको थियो।
वाल्टर रहेका बटालियनका कमाण्डर मेजर पुलले उनलाई मिलिट्री क्रसले सम्मानका लागि सिफारिस गरेका थिए। वाल्टरलाई त्यो उपाधीबाट कहिल्यै प्राप्त भएन। बेलायती सेनाले वाल्टरको योगदानलाई आत्मसात् गर्न नखोज्दा उनलाई त्यो उपाधि नदिएको वसिलले बताएका छन्। वासिलका अनुसार उनले एउटा नोट फेला पारेका थिए जसमा लेखिएको थियो-श्वेत टोलीमा अब अश्वेत व्यक्ति भर्ती गरिने छैन।’
राष्ट्रका लागि योगदान गरेका योद्धाले व्यहोर्नु परेको विभेदको त्यो नै अन्तिम उदाहरण बनेको वाल्टरको जीवनी लेखक वसिलको अनुभव छ।
‘अहंमताका कारण एउटा योद्धाको योगदानको उपहास भयो। बेलायती सेनाले त्यसखत योगदानलाई सम्मान गर्न चुक्यो। नश्लवादको चरम नमूनाको उदाहरण त्यो नै अन्तिम बन्यो,’ उनले लेखेका छन्।
सन् १९९९ मा वाल्टरको स्मृतिमा नर्थएम्फटन रंगशाला छेउमा बगैंचा बनाइयो। त्यहाँ नजिकका पबहरू पनि उनकै नामबाट खोलिएका छन्। सन् २०२१ मा वाल्टरलाई नेशनल फुटबल म्युजियममा राखियो। त्यस समारोहमा उनका पनाती एडवार्ड फिन्लेसन उपस्थित थिए। एडवार्ड इंगल्याण्ड तथा टोटनह्यामका डिफेन्डर हुन्। समारोहमा एडवार्डले भनेका छन्, ‘मेरा लागि मात्रै होइन हरेक अश्वेत फुटलबलरका निम्ति उहाँ प्रेरणाको स्रोत हो।’
(अलजजिरा टेलिभिजनको वेबसाइटमा प्रकाशित टलसम्बन्धी सामग्रीको भावानुवाद।)