फिफा विश्वकप २०२२ को उपाधिका लागि आइतबार राति साविक विजेता फ्रान्स र अर्जेन्टिनाबीच खेल हुँदैछ।
कतारको लुसेलस्थित लुसेल रंगशालामा हुने फाइनल खेल विश्व फुटबलका सुपरस्टार लिओनल मेसीको अन्तिम अन्तर्राष्ट्रिय खेल बन्दैछ।
क्लब फुटबलमा सबै उपाधि र कीर्तिमान बनाइसकेका मेसी उपाधि जितेर आफ्नो अन्तिम खेललाई यादगार बनाउन चाहान्छन्।
क्लब फुटबलमा दर्जनौं रेकर्ड बनाएका मेसीको नाममा विश्वकपका पनि रेकर्ड छन्।
ती रेकर्ड यस्ता छन् :-
- मेसी पाँच विश्वकप खेल्ने छ जना खेलाडी मध्येका एक हुन्। मेसीसँगै एन्टोनियो कार्बजल, लोथार म्याथाउस, राफा मार्क्युज, आन्द्रेस ग्वाडार्डो र क्रिस्टियानो रोनाल्डोले मात्र पाँच संस्करणको विश्वकप खेलेका छन्।
- जर्मनीका म्याथाउस र मेसीले विश्वकपको सर्वाधिक २५ खेल खेल्ने रेकर्ड बनाएका छन्। आइतबार फ्रान्सविरुद्ध मैदान उत्रिएसँगै मेसीले विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमान बनाउनेछन्।
- मेसी विश्वकपका खेलमा सर्वाधिक कप्तानी गर्ने खेलाडी हुन्। उनले १८ खेलमा कप्तानी गरेका छन्। मेसीपछि सर्वाधिक कप्तानी गर्ने सूचीको दोस्रो स्थानमा मेक्सिकोका राफा मार्क्युजले १७ खेल र अर्जेन्टिनाकै म्याराडोनाले १६ खेलमा कप्तानी गरेका छन्।
- विश्वकपको इतिहासमा इटालीका पाओलो माल्दिनी सबैभन्दा बढी समय खेल्ने खेलाडी हुन्। उनले विश्वकपमा २२१७ मिनेट खेलेका छन्। मेसीले अहिलेसम्म २१९४ मिनेट खेलेका छन् र उनी दोस्रो स्थानमा छन्। आइतबार उनले यो कीर्तिमान पनि आफ्नो नाममा लेखाउन सक्नेछन्।
- मेसी पाँच संस्करणको विश्वकपमा एसिस्ट गर्ने एक्ला खेलाडी हुन्। पेले र मेसीको नाममा नकआउट चरणमा सर्वाधिक ६-६ एसिस्ट गर्ने कीर्तिमान छ।
- मेसी अर्जेन्टिनाका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी हुन्। उनले विश्वकपमा ११ गोल गरिसकेका छन्। फिफा विश्वकप २०२२ मा उनले गाब्रियल बाटिस्टुटालाई पछि पारेका हुन्। उनले विश्वकपमा १० गोल गरेका थिए।
- मेसी यस्ता खेलाडी हुन् जसले विश्वकपमा आफ्नो टिनएजमा, २० वर्ष कटेपछि र ३० वर्ष कटेपछि गोल गरेका छन्।
- सन् २००२ देखि दिन थालिएको प्लेयर अफ दि म्याचको अवार्ड मेसीले १० पटक पाइसकेका छन्। उनले सन् २०१४ मा मात्र चार पटक पाएका थिए।
- विश्वकपमा खेलेका खेलमा सबैभन्दा बढी जित चाख्ने जर्मनीका मिरोस्लाभ क्लोस हुन्। उनले विश्वकपमा १७ जित हात पारेका छन् मेसी दोस्रो स्थानमा छन्। उनको नाममा १६ जित छ।