फ्रान्सलाई अर्जेन्टिनाले फिफा विश्वकप २०२२ को फाइनल खेलअघि एउटा चेतावनी दिइसकेको छ, अर्जेन्टिनाको टोली सन् २०१८ को जस्तो होइन। त्यतिबेला फ्रान्सले अर्जेन्टिनामाथि अन्तिम १६ को खेलमा ४-३ गोलको जित निकालेको थियो।
अर्जेन्टिनाको टिम चार वर्षअघि मुस्किलबाट ग्रुजिएको थियो। विश्वकप छनोटमै अर्जेन्टिनाका लागि कठिन बनेको अवस्था थियो। तर मेसीले अन्त्यतिरका खेलमा आफ्नो प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिनालाई सन् २०१८ को विश्वकपमा छनोट गराएका थिए।
यसपटक अर्जेन्टिनाको टिम एकजुट अनि युवा खेलाडीसँगै मेसीको समिश्रणले उत्कृष्ट खेल खेलिरहेको छ।
तर पनि २०१८ को खेलले आइतबारको खेलमा केही प्रभाव पार्न भने सक्छ।
सन् २०१८ को विश्वकपमा अर्जेन्टिना समूह चरणमा पनि धर्मराएको थियो। त्यसैले अन्तिम १६ मा फ्रान्ससँग भिड्नुअघि सबैले अर्जेन्टिनामाथि विपक्षी टिम हाबी हुने आँकलन गरेका थिए।
रसियाको कजानमा भएको खेलमा फ्रान्सले १३ मिनेटमा पेनाल्टी पायो। जसमा ग्रिजम्यान चुकेनन् र फ्रान्सलाई अग्रता दिलाए। त्यतिबेला एमबाप्पे र माटुइडीको उत्कृष्ट प्रदर्शनमा फ्रान्सले अर्जेन्टिनामाथि लगातार आक्रमण गरेको थियो।
खेलमा फ्रान्सले मेसीलाई रोक्ने रणनीति बनाएको थियो। उनलाई फ्रान्सका डिफेन्डरले लगातार निगरानी गरेर अघि बढ्न दिइरहेका थिएनन्। जसका कारण मेसीलाई आफ्ना साथीका लागि अवसर सिर्जना गर्न समस्या भइरहेको थियो।
एनगोलो कान्टेले विशेषगरी मेसीलाई रोकिरहेका थिए। मेसीलाई अघि बढ्न रोक्ने र पास दिन अवरोध गर्ने योजनामा सफल भएको फ्रान्सका प्रशिक्षक डेसच्याम्पले त्यतिबेला खेलपछि बताएका थिए।
अर्जेन्टिनाले लामा लामा पास खेल्यो। जसले काम पनि गर्यो। डि मारियाले ४१ मिनेट र गाब्रियल मेर्काडोले ४८ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई २-१ गोलले अग्रता दिलाएका थिए। फलस्वरूपमा फ्रान्स अझ प्रभावकारी र सटीक आक्रमण गर्न बाध्य भयो।
सो खेलमा पाउल पोग्बा छाएका थिए। उनी मैदानको सबै भागमा देखिए। जसले गर्दा फ्रान्सको आक्रमण तेज हुँदै गएको थियो। मिडफिल्डमा प्रभाव पार्दै र अर्जेन्टिनालाई सन्तुलनमा बस्न नदिएर फ्रान्स अघि बढेको थियो। जसको फाइदा लुकास हर्नान्डेजले उठाउन सके। उनले ओभरल्यापिङमा बायाँबाट विङमा प्रभावकारी पास दिए। जसका कारण फ्रान्सले मौका सिर्जना गर्न सक्यो। फलस्वरुपमा पाभार्डले ५७ मिनेट र एमबाप्पेले ६४ मिनेटमा गोल गरे।
६८ मिनेटमा चौथो गोल उस्तै उत्कृष्ट थियो। काउन्टर आक्रमणका लागि एमबाप्पे यति छिटो दौडिए कि उनले कुनै गल्ती गरेनन्। उनले व्यक्तिगत दोस्रो र टिमका लागि चौथो गोल गरे।
खेलपछि अर्जेन्टिनाका प्रशिक्षकले आफ्नो टिमले राम्रो खेले पनि एमबाप्पेको अविश्वसनीय प्रदर्शनले अर्जेन्टिनाले हारेको प्रतिक्रिया दिएका थिए।
अन्त्यतिर फ्रान्स पछि हटेर खेलेको थियो। जसका कारण अर्जेन्टिनाले तेस्रो गोल गर्न सफल भएको थियो।
सो खेलमा उत्कृष्ट प्रदर्शन गरेका एमबाप्पेबाहेक हर्नान्डेज, पोग्बा र कान्टे फ्रान्सको टिममा छैनन्।
चार अघिको भिडन्तभन्दा आइतबारको खेल फरक हुने पक्का छ। त्यसैले विश्वभरबाट करोडौं फ्यानले हेर्ने यो फाइनल खेल उतिकै रोमाञ्चक हुनेछ।