चिरञ्जीवी सैंजु कतार आएको तीन वर्ष भयो।
उनी नेपालबाट सिधा कतार आएका भने होइनन्। खोटाङको दिक्तेल पुर्ख्यौली घर भएका सैंजु १५ वर्षअघि थाइल्यान्ड पुगेका थिए।
थाई नागरिकसँग विवाह गरेका सैंजुले उतै घरजम गरे। व्यवसायको शिलशिलामा तीन वर्षअघि उनी कतार आए। यहाँ व्यवसाय र जागिरलाई सँगसँगै अघि बढाइरहेका सैंजुका लागि सन् २०२२ एउटा विशेष वर्ष बनेर अन्त्य हुँदैछ।
फिफा स्वयंसेवकको भूमिकामा रहेर उनले फिफा विश्वकप २०२२ मा प्रत्यक्ष रूपमा सहभागी हुने मौका पाए। विश्वकप २०२२ अन्तर्गत खेल भएका आठ रंगशालामध्ये उनी विशेषगरी खालिफा रंगशालामा खटिए। त्यहाँ उनको काम मिडियालाई सहजीकरण गर्ने थियो।
खालिफामा खेल नभएको बेला अरू रंगशाला पुगेर पनि विश्वकपका रोमाञ्चक खेल हेरे।
उनले अन्तिम खेलको रूपमा शनिबार तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया बीचको खेलमा मिडियालाई सहजीकरण गरे।
‘स्वयंसेवकको रूपमा मैले मिडिया डिपार्टमेन्टमा जिम्मा पाएँ। हाम्रो काम भनेको मिडियालाई सहजीकरण गर्ने हो। उनीहरूको टिकट प्रिन्ट गर्नेदेखि लिएर मैदानमा फोटो पत्रकारलाई निगरानी गर्नेसम्म हुन्छ,’ शनिबार खालिफा रंगशालामा खटिएका सैंजुले भने, ‘मिक्स जोनमा खेलाडीहरू हुन्छन्। त्यहाँका लागि प्रवेश पास पाएका पत्रकारलाई मात्र भित्र छिर्न दिनु हाम्रो जिम्मेवारी हो। भिडिओ खिच्न रोक्नेदेखि खेलाडी छुन नदिने काममा हामी लागिरहेका हुन्छौं।’
फिफा विश्वकप २०२२ मा खटिएका हजारौं स्वयंसेवकमध्ये एक उनले फिफाको स्वयंसेवकको वेबसाइटमार्फत् भोलिन्टियर बन्न आवेदन दिएका थिए। यसअघि कतारमा आयोजना भएको अरब कपमा काम गरेका साथीमार्फत् उनले फिफामा आवेदन दिएका थिए।
आवेदन स्वीकृत भएपछि केही महिना तालिम गरेका सैंजुसँग फुटबलको साइनो भने लामै छ। बाल्यकालमा फुटबल खेल्ने उनले नेपालमा पनि फुटबलसम्बन्धी काम गरे। थाइल्यान्ड गएपछि उनले त्यहाँको क्षेत्रीय प्रतियोगितामा काम गरेका थिए।
फुटबल भनेपछि मरिहत्ते बानीले उनी विश्वकपमा सहभागी हुनका लागि नै स्वयंसेवक भएका हुन्।
स्वयंसेवक हुँदा उनले फिफा अध्यक्ष जियानी इन्फान्टिनोसहित लिजेन्ड खेलाडीसँग भेटेर फोटो खिच्ने मौका पाए। उनले अर्जेन्टिनाका गाब्रियल बाटिस्टुटा, इटालीका डी रोशी र माटाराजी, ब्राजिलका रोबर्टो कार्लोस, इंग्ल्यान्डका जोन टेरी र पोर्चुगलका डेकोसँग भेटेर तस्बिर खिच्ने मौका पाए।
यो क्षण उनले जीवनकै उत्कृष्ट क्षणको रूपमा लिएका छन्। अझ अर्जेन्टिनाका बाटिस्टुटा र ब्राजिलका रोबर्टो कार्लोससँग त अटोग्राफ लिनसमेत भ्याए।
बाटिस्टुटासँग केहीबेर कुरा गर्न पाउँदाको क्षण उनले अझै बिर्सिएका छैनन्। उनले बासिस्टुटालाई ‘तपाईं लिजेन्ड हो नि!’ भनेका थिए। जवाफमा उनले ‘धन्यवाद’ भनेको सैंजु बताउँछन्। यस्तै उनले बाटिस्टुटालाई नेपालको बारेमा समेत सोधेका थिए। जवाफमा ‘एस आइ नो (मलाई थाहा छ)’ भन्दा सैंजु निकै खुसी बनेका थिए।
विश्वकप खेलिसकेका स्टार खेलाडी आँखैसामू देखेपछि उनले खेलाडीहरू सबैसामू हार्दिकताका साथ प्रस्तुत हुने गरेको अनुभव गरे।
सबै तस्बिर सौजन्य: चिरञ्जीवी सैंजु।