एसियाली मुलुक कतारमा आयोजित २२ औं संस्करणको फिफा विश्वकपमा व्यक्तिगत विधामा अर्जेन्टिनी खेलाडीको वर्चश्व रहेको छ।
दोहास्थित लुसेल रंगशालामा आइतबार राति भएको खेलमा अर्जेन्टिनालाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका कप्तान लिओनेल मेसीले गोल्डेन बल जिते। उनले प्रतियोगितामा सात खेलबाट समान सात गोल गरे। यस्तै उनले तीन वटा गोलका लागि सहयोग गरेका थिए।
यसअघि सन् २०१४ को विश्वकपमा पनि गोल्डेन बल जितेका मेसी यो अवार्ड २ पटक पाउने पहिलो खेलाडी बने।
सन् १९८२ को स्पेन विश्वकपबाट यो अवार्ड दिन थाले यता दुई पटक यो पुरस्कार जित्ने मेसी पहिलो खेलाडी हुन्।
यता प्रतियोगिताको सर्वाधिक गोलकर्ता फ्रान्सका केलियन एम्बाप्पेले गोल्डेन बुट जिते। उनले सात खेलमा ८ गोल र दुई असिस्ट गरेका थिए।
२३ वर्षीय एम्बाप्पेले फाइनलमा ह्याट्रिक गर्दै खेललाई बराबरीमा ल्याए पनि उनको टिम पेनाल्टी सुटआउटमा स्तब्ध भएको थियो।
सन् २०१८ मा फ्रान्सले क्रोएसियालाई हराउँदै विश्वकप जित्दा एम्बाप्पेले एक गोल गरेका थिए।
यस्तै अर्जेन्टिनाका इमिलियानो मार्टिनेजले गोल्डेन ग्लोभ जितेका छन्। कतार विश्वकपमा उनले तीन क्लिन सिट राखेका थिए भने दोहामा सबै खेलका सबै मिनेट खेलेका उनले फाइनलमा भएको पेनाल्टी सुटआउटमा फ्रान्सका किंग्सले कोमनको प्रहार रोकेका थिए।
यस्तै, अर्जेन्टिनाकै इन्जो फर्नान्डेज प्रतियोगिताका उदयीमान युवा खेलाडी चुनिएका छन्। उनले समूह चरणमा मेक्सिकोविरूद्ध गोल गरेका थिए। यस्तै फिफा फेयर प्लेको अवार्ड इंग्ल्यान्डले जितेको छ।
३२ राष्ट्र सहभागी विश्वकप मंसिर ४ गतेबाट दोहामा एक महिनासम्म चलेको थियो।